काठमाडौं, कात्तिक १४ । समाचार लेखेको विषयलाई लिएर पत्रकारहरूलाई नियन्त्रणमा लिएको घटनाबारे नेपाल प्रहरीले प्रधानमन्त्री कार्यालयको चासोका आधारमा सोधपुछका लागि बोलाइएको जनाएको छ।
प्रहरी प्रवक्ता एवं एआईजी अभिनारायण काफ्लेले प्रधानमन्त्री कार्यालयबाट भएको चासोका आधारमा केही सञ्चारकर्मीलाई सोधपुछका लागि साइबर ब्युरोमा बोलाइएको जानकारी दिनुभएको हो।
पत्रकार पक्राउको चौतर्फी विरोध भएपछि प्रधानमन्त्री कार्यालयले घटनामा आफ्नो संलग्नता नरहेको भन्दै पत्रकारहरूलाई तत्काल रिहा गर्न निर्देशन दिएको थियो। प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहालले पनि पक्राउमा प्रधानमन्त्री कार्यालयको कुनै भूमिका नरहेको बताउनुभएको थियो।
तर प्रहरीको भनाइले पत्रकारलाई सोधपुछका लागि बोलाउने निर्णयमा प्रधानमन्त्री कार्यालयको चासो रहेको देखाएको छ। यसअघि पत्रकार विश्वमणि सुवेदी, धीरज बस्नेत र शोभराज बरालसहितका सञ्चारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। नयाँ पत्रिका र नेपाल प्रेसका कार्यालयमा समेत प्रहरी पुगेको थियो।
यसअघि प्रहरी परिचालन गर्न प्रधानमन्त्रीका सल्लाहकार कुमार बेन र गृहमन्त्री सुदन गुरुङले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई निर्देशन दिएको दाबी स्रोतहरूले गरेका छन्। प्रहरी महानिरीक्षकले विरोध हुन सक्ने भन्दै यस्तो कदम उचित नहुने अडान राखे पनि दबाबपछि प्रहरी परिचालन गरिएको स्रोतको दाबी छ।
प्रहरीले सार्वजनिक गरेको वक्तव्यमा पछिल्लो समय नेपाल प्रहरीविरुद्ध गलत समाचार तथा सन्देश सामाजिक सञ्जाल र सञ्चारमाध्यममा प्रचार भइरहेको उल्लेख छ। यस्ता सामग्रीको सत्यता, तथ्यपरकता र कानुनी आधारबारे सामान्य जानकारी लिने उद्देश्यले साइबर ब्युरोले सञ्चारकर्मीलाई बोलाएको प्रहरीको दाबी छ।
प्रहरीले प्रेस स्वतन्त्रता र सञ्चारकर्मीको सुरक्षाप्रति प्रतिबद्ध रहेको जनाउँदै घटनालाई प्रहरीको कार्यसम्पादनअन्तर्गतको सही मनसायका रूपमा व्याख्या गरेको छ।














प्रतिक्रिया दिनुहोस्