बर्दिबास, कात्तिक १५ । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई मतदान गर्ने नागरिकहरूले आफूहरूले हावामा भोट हालेको महसुस गर्न थालेको टिप्पणी गर्नुभएको छ।
महोत्तरीको बर्दिबासमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै संयोजक प्रचण्डले वर्तमान सरकारको कार्यशैली अलोकतान्त्रिक भएकाे बताउनुभयाे । उहाँले आम नागरिकले पनि सरकारको कार्यशैली र गतिविधिबारे बुझ्न थालेको उल्लेख गर्दै बौद्धिक समुदायले यसबारे धारणा बनाइसकेको दाबी गर्नुभयो। ‘आम जनताले पनि सरकारको कार्यशैली बुझ्न थालेका छन्, बौद्धिक समुदाय त स्पष्ट भइसकेकै छ। नेपालका सबै बुद्धिजीवीहरूले कुरा बुझिसके, हावामा भोट हालिएछ, हुरी बतास मात्रै रहेछ यो भनेर तर, गाउँगाउँका जनतालाई बुझाउन अझै बाँकी छ, त्यो काम चाहिँ हामी गर्छौँ,’ उहाँले भन्नुभयो।
संयोजक प्रचण्डले पार्टीले सञ्चालन गर्न लागेको जागरण अभियानमार्फत सरकारका अलोकतान्त्रिक गतिविधिबारे जनतालाई जानकारी गराउने तथा ती गतिविधिको भण्डाफोर गर्ने बताउनुभयो।
सरकारविरुद्ध आन्दोलन गर्ने विषयमा पनि पार्टीभित्र तयारी भइरहेको उहाँको भनाइ थियो। उहाँले परिस्थितिको मूल्याङ्कन गर्दै आवश्यकताअनुसार आन्दोलनका कार्यक्रम अघि बढाइने जानकारी दिनुभयो।
उहाँले मधेस प्रदेश सरकारको स्थायित्वका विषयमा लोकतान्त्रिक गणतन्त्रका पक्षधर राजनीतिक दलहरूसँग सघन छलफल भइरहेको बताउनुभयो। उक्त विषयमा चाँडै निष्कर्षमा पुग्ने विश्वाससमेत उहाँले व्यक्त गर्नुभयो।














प्रतिक्रिया दिनुहोस्