जनता टाइम्स

१७ पुष २०७६, बिहीबार १०:५१

परिवारसँग अनलाइनमा कुराकानी गर्दागर्दै गोली चलेपछि…


गोरखा, पुष १७

अनलाइनमा कुराकानी चल्दै थियो । अर्जुन थापा मगर हतासिए । केहीबेरपछि कुराकानी गर्ने भन्दै उनी अफलाइन भए । तर परिवारका सदस्यसँग त्यही अनलाइन कुराकानी नै उनको अन्तिम कुराकानी भयो ।
बुधबार जम्मू–कश्मीरको रजौरी जिल्लाको सीमा क्षेत्र नौशेरामा भएको झडपमा भारतीय सेनामा कार्यरत गोरखा नगरपालिका–५ देवीमाई टोलका नेपाली युवा अर्जुन थापा मगरको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ।

एक महिने छुट्टीपछि पुसको पहिलो साता अर्जुन कार्यक्षेत्र फर्किएका थिए । मंगलबार परिवारसँग अनलाइनमा कुराकानी गर्दै थिए। ‘अस्ति राति अनलाइनमा परिवारसँग कुरा गर्दागर्दै गोली चल्यो फोन राख–राख भनेर भन्नुभयो रे, एक छिनमै फोन गर्दा फोन अफ् भएछ,’ उनको भाउजू नाता पर्ने सानु थापाले भनिन्,‘हिजो बिहान साथीले एसएमएसमार्फत घरको ठेगाना माग्नुभएछ, फोन पनि लाग्दैन किन के भयो र भनेर सोध्दा उहाँको साथीले ‘नराम्रो घटना छ’ मात्र भन्नुभएछ।’

पटक–पटक टेलिफोन गरेपछि परिवारका सदस्यले घटना थाहा पाए। ‘उहाँको फोन अफ्, साथी र अफिसमा फोन गर्दा घटना घटेको छ भन्ने मात्र बुझियो,’ सानुले भनिन्, ‘पछि त ‘बडी’ लिन आउनुहुन्छ कि के गर्नुहुन्छ भनेर उतैबाट फोन आयो।’ अपत्यारिलो खबर सुनेका परिवारका सदस्य, आफन्त र छिमेकी बिहीबार साँझ नै झापाको काकडभित्ता गएका छन्।‘काकडभित्तासम्म पुगेपछि इन्डिया जाने कि शव त्यही ल्याउँछ थाहा हुन्छ रे,’ उनले भनिन्।

देवीमाई टोलमा २१ घरधुरी मगर समुदायको बस्ती छ। यो गाउँमा भारतीय सेनामा भर्ती हुने दुईजनामध्ये एक हुन् अर्जुन थापा मगर। अर्जुन परिवारका एक्ला छोरा हुन्। ‘११ पढ्दापढ्दै लाहुरे हुनु भएको हो,’ सानुले भनिन्,‘राम्रो मान्छे, साह्रै मिलनसार हुनहुन्थ्यो।’

अर्जुन चार वर्षअघि भारतीय सेनामा भर्ति भएको स्थानीय नरजङ राना मगरले बताए। नरजंगका अनुसार अर्जुन सात महिना अघि मात्र विवाह बन्धनमा बाँधिएका थिए। ‘आमा हुनुहुन्न, बैनी, श्रीमती र बुवा घरमा हुनुहुन्छ,’ उनले भने।

अर्जुनले गोरखा नगरपालिका–६ को महेन्द्र ज्योति माध्यमिक विद्यालयमा अध्ययन गरेको नरजङ्गले बताए। उनले भने,‘लाहुरे हुनकै लागि धेरै दुःख गर्‍यो, तर खुसी लामो समय टिकेन।’ (कान्तिपुर)