जनता टाइम्स

१७ कार्तिक २०८३, मंगलबार १९:५५

पत्रकार पक्राउ प्रहरीको आन्तरिक विषय, सरकारको अनुमति थिएन : प्रवक्ता पोखरेल


काठमाडौं, कात्तिक १७ । सरकारका प्रवक्ता सस्मित पोखरेलले पत्रकार पक्राउ गर्ने विषयमा प्रहरीले सरकारसँग पूर्ण अनुमति नलिएको बताउनुभएको छ।

मंगलबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा उहाँले पत्रकार पक्राउबारे सरकार र प्रधानमन्त्रीलाई पूर्वजानकारी नभएको स्पष्ट पार्नुभयो।

प्रवक्ता पोखरेलका अनुसार प्रहरीले सामान्य तथ्य जाँचबुझका लागि मात्रै पत्रकारहरूलाई बोलाएको थियो। प्रहरीका केही आन्तरिक सूचना चुहावट भएको र भ्रामक सूचना कहाँबाट सार्वजनिक भए भन्ने विषयमा सोधपुछ गर्न प्रहरीले बोलाएको हुनसक्ने सरकारको बुझाइ रहेको उहाँले बताउनुभयो।

‘सरकार र प्रधानमन्त्रीलाई त्यसको केही पनि जानकारी थिएन। त्यो प्रहरीको आन्तरिक कुरा मात्र हो,’ उहाँले भन्नुभयो।

सूचना चुहावट संवेदनशील विषय भएकाले प्रहरीले आफ्नै आन्तरिक अनुसन्धान गरेको उहाँको भनाइ थियो। आवश्यक परे गृह मन्त्रालयले यस विषयमा थप कारबाही गर्ने पनि उहाँले बताउनुभयो।

प्रधानमन्त्री बालेन्द्र शाहले घटनाबारे जानकारी पाउनेबित्तिकै कुनै पनि पत्रकारलाई पक्राउ नगर्न र हिरासतमा नराख्न निर्देशन दिनुभएको प्रवक्ता पोखरेलले स्पष्ट पार्नुभयो।