काठमाडौं, कात्तिक १७ । यस वर्षको तिहारअन्तर्गत भाइटीकाको शुभसाइत कात्तिक २५ गते बिहान ११ बजेर ७ मिनेटमा निर्धारण गरिएको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक तथा उपसचिव घनश्याम भुसालका अनुसार २०८३ सालको भाइटीकाका लागि बिहान ११ बजेर ७ मिनेटको समय उत्तम साइतका रूपमा निर्धारण गरिएको हो।
यस वर्ष यमपञ्चकका पर्वहरू कात्तिक २० गते शुक्रबारदेखि सुरु हुनेछन्। कात्तिक २० गते धनत्रयोदशी अर्थात् धनतेरस र यमदीपदान गरिनेछ।
कात्तिक २१ गते काग तिहार तथा धन्वन्तरी जयन्ती मनाइनेछ। त्यस्तै, कात्तिक २२ गते नरक चतुर्दशी, कुकुर तिहार र लक्ष्मीपूजा परेको छ।
कात्तिक २३ गते गाईपूजा गरिनेछ भने २४ गते गोवर्धन पूजा, गोरुपूजा, बलिपूजा, हलितिहार तथा म्हपूजा मनाइनेछ। कात्तिक २४ गतेदेखि नेपाल संवत् ११४७ पनि सुरु हुनेछ।
यमपञ्चकको अन्तिम दिन कात्तिक २५ गते बुधबार यमद्वितीया अर्थात् भाइटीका मनाइनेछ।
समितिका अनुसार भाइटीकाका दिन दाजुभाइ पश्चिम फर्किएर र दिदीबहिनी पूर्व फर्किएर टीका लगाउनुपर्नेछ।
दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, सद्भाव र आत्मीयताको प्रतीकका रूपमा मनाइने भाइटीकामा दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुख, शान्ति र समृद्धिको कामना गर्दै सप्तरङ्गी टीका लगाइदिने तथा मखमली र सयपत्रीका माला पहिर्याइदिने परम्परा छ।














प्रतिक्रिया दिनुहोस्