जनता टाइम्स

१८ पुष २०७६, शुक्रबार १६:२६

पक्राउ पर्ने भए अर्का भिआइपी, अदालतले दियो अनुमति


कपिलबस्तु, पुस १८ । संघीय संसदको प्रतिनिधिसभामा कपिलवस्तु क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद अभिषेकप्रताप साहविरूद्ध पक्राउ पूर्जी जारी भएको छ । जिल्ला अदालत कपिलवस्तुले नेपाली कांग्रेसबाट निर्वाचित सांसद साहविरूद्ध बिहीबार पक्राउ पूर्जी जारी गर्न प्रहरीलाई अनुमति दिएको हो ।

ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएसँगै जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले सांसद शाहलाई पक्राउ गर्न अदालतसँग पूर्जी मागेको थियो । कपिलवस्तु प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुनील मल्लले साहलाई पक्राउ गर्न अदालतसँग पूर्जी मागिएकोमा अनुमति पाएको बताउनु भयो । ‘उहाँलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने भएकाले पूर्जी मागिएको हो,’ मल्लले भन्नुभयो । प्रहरीका अनुसार सांस्द शाह अहिले नेपाल छाडिसकेको पाइएको छ ।

गत निर्वाचनमा शाहसँगै चुनावी प्रतिस्पर्धा गर्नुभएका राप्रपा केन्द्रीय सदस्य तथा कलाकार श्याम मिश्रलाई घरमै बोलाएर मरणासन्न हुने गरी कुटपिट गरेपछि उहाँले शाहविरूद्ध ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिनुभएको थियो । मिश्रले बुधबार कपिलवस्तु प्रहरीमा जाहेरी दिनुभएपछि शाहलाई पक्राउ गर्न बिहीवार नै प्रहरीले अदालतसँग अनुमति मागेको थियो । सांसद शाहले गत पुस ५ गते आफ्नै घरमा बोलाएर कोठाभित्र थुनेर नसालु पदार्थ सुँघाई कुटपिट गरेको मिश्रको जाहेरीमा उल्लेख छ । मिश्रले आफ्नो मुखभित्र बन्दुक राखेर सांसद शाहले ज्यान मार्ने धम्की दिएको समेत आफ्नो जाहेरीमा उल्लेख गर्नुभएको छ ।

प्रहरीले सांसद शाहलाई पक्राउ गर्न आवश्यक प्रक्रियाका लागि संसद सचिवालयसँग परामर्श अघि बढाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अपराध गर्नेको पद र ओहदा नहेर्न प्रहरीलाई निर्देशन दिनुभएपछि आइजीपी सर्वेन्द्र खनालले मातहतका सवै प्रहरी अधिकारीलाई सोहीअनुसारको निर्देशन दिएपछि पछिल्लो समय प्रहरीले कानूनी राज कायम गर्ने दृढ अभियान चलाएको छ । सरकारले कानून नमान्ने वा उलंघन गर्ने जोकोहीलाई अनुसन्धानको दायरामा ल्याउने नीति अघि बढाएपछि यसअघि थुप्रै भिआइपी जेलमा पुगेका छन । सांसद शाह पनि अव अपराधको सजायको भागिदार बन्नुपर्ने भएको छ ।