जनता टाइम्स

१८ पुष २०७६, शुक्रबार १६:४७

उपसचिवले यति कमाएकी अख्तियार नै पर्यो छक्क


काठमाडौं, पुष १८

अर्थ मन्त्रालयका एक उपसचिवको कमाई देखेर अख्तियार दुरुपयोग अनुसन्धान आयोग नै छक्क परेको छ । उपसचिव राजेन्द्र ढुंगानाले अकुत सम्पत्ति कमाएको भेटिएपछि अख्तियारले उनिविरूद्ध मुद्दा दायर गरेको हो ।

शुक्रबार ढुंगाना र उनकी श्रीमतीविरूद्ध ४ करोड ६८ लाख ४८ हजार ५५६ रुपैयाँ बिगो माग्दै आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । उपसचिव ढुंगानाले सार्वजनिक सेवाको पदमा बहाल रहँदा गैरकानुनी सम्पत्ति आर्जन गरेको पुष्टि भएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

गैरकानुनी रूपमा आर्जन गरेको स्रोत नखुल्ने सम्पत्तिहरू उनले आफूलगायत श्रीमती मधुको नाममासमेत खरिद गरी राखेको पाइएको अख्तियारले जनाएको छ । अनुसन्धानबाट ढुंगानाले सार्वजनिक सेवामा प्रवेश गरेको मिति (२०४९) देखि २०७५ सम्म आर्जन गरेको वैध आय ७९ लाख ५४ हजार ७ सय ९५ रुपैयाँ हुन्छ । तर सो अवधिमा उनले गरेको खर्च तथा लगानी ५ करोड ४८ लाख ३ हजार ३५१ अस्वभाविक देखिएको र त्यसमध्ये ४ करोड ६८ लाख ४८ हजार ५५६ रुपैयाँको स्रोत नखुलेको पाइएको छ । प्रचलित कानुनअनुसार मधुका नाममा रहेको गैरकानुनी रूपमा आर्जित सम्पत्ति पनि जफत गरिने जनाइएको छ।