जनता टाइम्स

१८ पुष २०७६, शुक्रबार १९:३८

आगामी चुनावमा काँग्रेस शून्यमा झर्ने सुजता कोइरालाकै ठोकुवा, यस्तो दिनुभयो आधार


रुपन्देही, पुस १८ । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले सभापति शेरबहादुर देउवाको गम्भीर गल्तीका कारण आगामी निर्वाचनमा काँग्रेस शून्य सिटमा सिमित हुने ठोकुवा गर्नुभएको छ । उहाँले आन्तरिक कलह समाप्त नभए पार्टी हराएर जाने ठोकुवा पनि गर्नुभयो ।

प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेतृ कोइरालाले पार्टी बलियो बनाउने गरी भूमिका निर्वाह गर्न सभापति देउवालाई सुझाव पनि दिनुभयो । तात्कालिन प्रधानमन्त्री तथा कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाकी पुत्रीसमेत रहनुभएकी केन्द्रीय सदस्य कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा पुनःसभापति बन्नकै लागि पार्टी समाप्त पार्न लागेको बताउनु भयो ।

‘पार्टी सबैभन्दा प्रमुख विषय हो, व्यक्ति ठूलो होइन, पार्टीको विवाद नमिले आउने चुनावमा काँग्रेस शून्यमा झर्छ,’ कोइरालाले भन्नुभयो, ‘पार्टीभित्र यस्तै किचलो रहिरहे आफू यो पार्टीमा भोट हाल्नलाई हात काँप्नेछ ।’ काँग्रेस महाधिवेशनमा सबैको साझा उम्मेदवार बन्नुपर्ने र पार्टीलाई बलियो बनाउनेलाई जिताउनुपर्ने उहाँको भनाइ छ ।