जनता टाइम्स

२० पुष २०७६, आईतवार १०:५४

आर्थिक सहयोग भए एमसीसी स्विकार हुने नेकपा नेता नेपालको घोषणा


कञ्चनपुर, पुष २०

नेकपाका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सिमा विवाद समाधानका लागि भारतले पनि पहल गर्नुपर्ने बताउनु भएको छ । उहाले नेपाल–भारत सिमाका विषयमा विवाद रहेकाले यसलाई कुटनीतिक तवरले टुंगो लगाउनुपर्नेमा जोड दिनुभयो ।

प्रेस संगठन नेपाल कञ्चनपुरले आइतबार महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाले कालापनीमा भएका सीमा विवाद टुङ्गो लगााउन भारतले पनि उदारता देखाउनुपर्ने बताउनु भयो । कालापानी, सुस्तासहित समग्र सीमा विवाद समाधान गर्न भारतले उदारता देखाउनु पर्नेमा आफ्नो जोड रहेको उल्लेख गर्नुभयो ।

नेता नेपालले एमसीसीका विषयमा पनि आफ्नो धारणा राख्दै आर्थिक विकासका लागि आएको सहयोग स्वीकार गर्नुपर्नेमा जोड दिनुभयो । यद्यपी यस विषयमा केही विवाद भएकाले त्यसको निक्र्यौल गरेरमात्र स्विकार गरिने समेत स्पष्ट पार्नुभयो । नेकपाको स्थायी समितिमा एमसिसीको विषयमा छलफल भएको र केन्द्रीय समितिमा पनि थप छलफल हुने उल्लेख गर्दै नेता नेपालले थप विश्लेषण गर्नुपर्ने भएकाले सबैको भावना समेटेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

फरक प्रसंगमा नेता नेपालले आसन्न राष्ट्रियसभाको निर्वाचनमा नेकपाको शक्ति वृद्धि हुने बताउनु भयो । ‘प्रतिनिधिसभा हुँदै अब राष्ट्रियसभामा पनि नेकपाको शक्ति वृद्धि हुँदैछ’, उहाले भन्नुभयो, ‘जनभावनाअनुसार सरकार पनि गम्भीर भएर अघि बढ्नुपर्छ ।’ जनताको भरपर्दो र विश्वासिलो पार्टीका रूपमा नेकपा रहेको भन्दै नेता नेपालले प्रतिनिधिसभाको सभामुख चयनका विषयमा पनि पार्टीको केन्द्रीय कमिटीले टुङ्गो लगाउने जानकारी दिनुभयो ।