जनता टाइम्स

२० पुष २०७६, आईतवार १५:३२

मधेशमा तोडियो भ्रमको जालो, प्रदेश–२ मा पहिलो पटक निस्कियो सत्तारुढ नेकपा र राजपाको संयुक्त जुलुस


जनकपुर, पुष २०

प्रदेश–२ मा पहिलो पटक सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)को सयुक्त जुलुस निक्लेको छ । राष्ट्रियसभाको निर्वाचनमा चुनावी तालमेल गरेका दुवै दलले उम्मेदवार मनोनयन दर्ताका क्रममा सयुक्त जुलुस निकालेका हुन् ।

जनकपुर उपमहानगरपालिका–४ जिल्ला अदालत चोकमा रहेको नेकपाको कार्यालयबाट संयुक्त जुलुस निकालेका हुन । जुलुस नेकपाको कार्यालयबाट राम चोक, मुरली चोक हुँदै निर्वाचन कार्यालयमा पुगेको थियो । कार्यालय पुगेर नेकपाबाट राधेश्याम पासवान (सर्लाही) र तुल्सा दाहाल (सर्लाही)ले उम्मेदवारी दर्ता गरेका छन् । यस्तै राजपा उम्मेदवारहरू मृगेन्द्रसिंह यादव र शेखर सिंहले पनि उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

उम्मेदवारी दर्ताका लागि उम्मेदवारहरू माला पहिरिएर जुलुससहित निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । उम्मेदवारी दर्तापछि दुवै दलका उम्मेदवारले संयुक्त फोटो समेत खिचाएका थिए । प्रदेश २ बाट राष्ट्रियसभाका चार सिटमा सत्तारुढ दल नेकपा र राजपाले दुई–दुई सिटका लागि भागवण्डा गरेका छन् ।

त्यस्तै प्रदेश २ का चार सिटमा प्रतिपक्षी दल नेपाली कांग्रेस र हालसालै सरकारबाट बाहिरिएको समाजवादी पार्टीले पनि दुई दुई सिट भागवण्डा गरेका छन् । कांग्रेसले नगिना यादव (महोत्तरी) र भोला पञ्जियार (धनुषा)लाई उम्मेदवार बनाएको छ भने समाजवादी पार्टीले रामलाल पासवान र अनिरुद्र यादवलाई उम्मेदवार बनाएको छ ।