अकल्याण्ड, पुस २०
अष्ट्रेलियामा भएको आगलागीका कारण उडेको धुवाँको मुस्लो न्युजिल्याण्डसम्म पुगेको छ । डढेलोका कारण उठेको धुवाँको मुस्लोले न्युजिल्याण्डको अकल्याण्ड शहरको आकाश ढाकेको अधिकारीहरुले आइतबार बताएका छन् । न्युजिल्याण्डको जलवायु तथा मौसम विभागले तास्मान समुद्रिक क्षेत्र हुँदै मुस्लो न्युजिल्याण्डतर्फ आएको जनाएको छ । अष्ट्रेलियाको आगलागीबाट मुस्लो आएको यो दोस्रो पटक भएको न्युजिल्याण्डका अधिकारीहरुले जनाएका छन् ।
मुस्लोले उत्तरी आइसल्याण्ड र दक्षिणी आइसल्याण्डको माथिल्लो भागलाई पनि ढाकेको अधिकारीहरुले जनाएका छन् । त्यस क्षेत्रका बासिन्दाले धुँवाको गन्ध थाहा पाउने अवस्था रहेको मौसम विभागका अधिकारीहरुको भनाइ छ । यसले दीर्घकालीन असर भने नपर्ने बताइएको छ । खतराको स्तरमा पुगेको अष्ट्रेलियाको जङ्गलमा लागेको भीषण डढेलोले अष्ट्रेलिया सरकारलाई मात्र समस्यामा पारिरहेको छैन, यसको बढ्दो क्षतिले विश्व समुदायलाई नै अत्याएको छ ।
चार महिनादेखिको डढेलो नियन्त्रणमा आउने भन्दा बढी नियन्त्रण बाहिर गइरहेको छ । गत सेप्टेम्बरदेखि लागेको यो डढेलोले मानिस र जनावरलाई भयानक रुपमा प्रभावित पारेको छ । डढेलोका कारण अहिलेसम्म १८ जनाको ज्यान गइसकेको छ भने करीब ५० करोड जनावर र पंक्षीहरुको मृत्यु भइसकेको छ । आगोले २ सय बढी घरमा पनि क्षति पुगेको छ । थुप्रै मानिसहरु अहिले पनि आगोबाट प्रभावित क्षेत्रमा बसिरहेका छन् ।
युनिभर्सिटी अफ सिड्नीको इकोलोजिस्टले अहिलेसम्म ५० करोड जनावर डढेर मरिसकेको उल्लेख गरेको छ । यसमा स्तनधारी पशुपंक्षीका साथै घस्रने जनावर पनि समावेश छन् । न्यू साउथ वेल्स रुरल फायर सर्भिस (आरएफएम) ले जंगलको डढेलोका कारण नावरा नजिकैको उत्तरी किनारमा आफ्नै मौसम प्रणाली विकसित भएको जनाएको छ । यसलाई आरएफएसले निकै नै खतरनाक स्थिति बताएको छ ।
यो डढेलो अष्ट्रेलियाको भिक्टोरिया र न्यू साउथ वेल्सको तटीय इलाकामा सबैभन्दा धेरै फैलिएको जनाइएकोछ । आगलागीका कारण हावा र विषालु धुँवाका कारण पूर्वी तटमा रहेको इलाकामा जीवनयापन निकै मुस्किल भएको छ । मानिसहरु घर छोडेर भागिरहेका छन् ।
मृतकको संख्या लगातार बढिरहेको छ । अष्ट्रेलिया सरकारले थुप्रै इलाकामा संकटकालको घोषणा गरेको छ । थुप्रै स्थानमा तापक्रम ४५ देखि ४७ डिग्रीसम्म पुगेको छ । मौसम विभागका अनुसार हावाले थप आगो फैलाइरहेको छ । यसबाट आउने धुँवाले उद्दारकार्यमा बाधा पुर्याइरहेको छ । न्यू साउथ वेल्सको मध्य–उत्तरी इलाकामा सबैभन्दा धेरै जनावरको बसोबास छ । तर जङ्गलमा लागेको आगोका कारण उनीहरुको जनसंख्यामा भारी गिरावट आएको छ ।












प्रतिक्रिया दिनुहोस्