जनता टाइम्स

२० पुष २०७६, आईतवार १८:३६

डिआइजी पोखरेलको सुधार अभियान : कार्यालय प्रमुखलाई दिए जवानसँगै खान–बस्न यस्तो निर्देशन


ललितपुर, पुस २० । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेलले जवानको मेसमा खाना खान र हप्ताको एक रात सुत्न कार्यालय प्रमुखदेखि सवै तहका अधिकृतलाई निर्देशन दिनुभएको छ । उपत्यकाको शान्ति सुरक्षा प्रमुखको रुपमा कार्यभार सम्हालेलगत्तैबाट प्रहरीभित्र सुधार अभियान चलाउनु भएका डिआइजी पोखरेलले आज महानगरीय प्रहरी परिसर ललितपुरमा निरीक्षणको क्रममा यस्तो निर्देशन दिनुभएको हो ।

‘प्रत्येक दिन साँझ सिनियर अधिकृतहरूले जवान, हवल्दारको मेसमा गएर खाना खाने साथै कार्यालय प्रमुख हप्ताको एक दिन अनिवार्य रूपमा जवान, हबल्दारको व्यारेकमा सुति देखिएका कमी कमजोरीलाई सुधार गर्दै लैजानुस,’ डिआइजी पोखरेलले निर्देशन थियो । डिआइजी पोखरेलले महानगरीय प्रहरी परिसर ललितपुरको निरीक्षण तथा निर्देशनका लागि ललितपुर आउनु भएको थियो । नेपाल प्रहरीमा तल्लो तहका कर्मचारीलाई मथिल्लो तहका अधिकारीले उचित व्यवहार गर्न नसकेको आरोप लागिरहेको बेला संगठनको नेतृत्व गर्ने निश्चित बनेका डिआइजी पोखरेलले जवान तथा हवल्दारले खाने खाना समेत पौष्टिक हुनुपर्छ भन्दै सुधारको अभियान थाल्नुभएको हो ।

उहाँले काममा कुनै संझौता नगर्न र गलत काममा हात नलम्काउन पनि कडा निर्देशन दिनुभयो । राजधानीको प्रहरीले गर्ने कार्य वा व्यवहारले समग्र संगठनको प्रतिनिधित्व गर्ने बताउँदै उहाँले सो कुरा अन्तराष्ट्रिय जगतमा समेत जाने हुनाले उत्कृष्ट ढंगले कार्यसम्पादन गर्न मातहतका प्रहरीलाई निर्देशन दिनुभयो । पोखरेलले नागरिकको शान्ति सुरक्षाको जिम्मेवारी प्रहरीले लिएकाले कार्यक्षेत्रमा नागरिकसंग गर्ने व्यवहारले प्रहरी वेला वेला आलोचना हुँदै आएको स्मरण पनि गराउनु भयो ।

‘आम नागरिकसंगको व्यवहारमा शिष्टता र नम्रता अपनाउनोस,’ पोखरेलले भन्नुभयो । आफूले भ्रष्टाचारलाई शत्रु मान्ने बताउँदै पोखरेलले कुनै प्रहरी कर्मचारीले व्यक्तिगत स्वार्थ पूरा गर्न लोभ लालचमा परी गलत कार्य गरेको भेटीएमा वा आर्थिक अनियमितता गरेको फेला परेमा त्यस्ता कर्मचारीमाथि आफू अलिकत्ति पनि नरम नहुने प्रष्ट पार्नुभयो । ‘गलत काम र भ्रष्टाचार सम्बन्धी मुद्दामा कोही कतैबाट भनसुन गराएर बच्न सकिन्न, कसैलाई छाडिन्न, उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गरिन्छ,’ उपत्यका प्रहरी प्रमुख डिआइजी पोखरेलको भनाई थियो ।