जनता टाइम्स

२१ पुष २०७६, सोमबार १०:०८

प्रदेश ३ को राजधानी बन्यो प्रदेश सांसदलाई नै गलपासो


रमेश गिरी, भक्तपुर । प्रदेश नम्बर ३ को राजधानी तोक्ने बिषय यतिखेर प्रदेशसभाका सांसदहरुलाई गलपासो बनेको छ । प्रदेशको स्थायी राजधानी र नाम टुङ्याउन हेटौडामा यतिखेर प्रदेश सभादेखि पार्टीमा समेत मत विभाजित हुँदा प्रदेशसभा सदस्यहरुलाई प्रदेशको स्थायी राजधानी टुङ्याउने विषय गलपासो बनेको अधिकांश प्रदेश सांसदहरुले गुनासो गरेका छन् ।

३ नं. प्रदेश भित्रका १३ जिल्ला मध्ये मकवानपुर र चितवन बाहेकका ११ वटा जिल्लाका दुईतिहाई भन्दा बढी सदस्यहरुले हेटौडा स्थायी राजधानी उपयुक्त छैन भन्ने धारणा बाहिर ल्याउदा पनि नेकपा भित्र भने पार्टीको ह्वीप जारीले नेकपाका प्रदेश सदस्यलाई थप गलपासो बनेको हो । प्रदेश सांसद शशीजंग थापाले स्थायी राजधानी हेटौडा अधिकांशका लागि अनुपयुक्त भएको बताउदै भक्तपुर या काभ्रे नै स्थायी राजधानी उपयुक्त हुने बताउनुभयो ।

अधिकांश प्रदेशसभा सदस्यको चाहना काभ्रे नै स्थायी राजधानी उपयुक्त हुने धारणा रहेको बताउदै उहाँले भन्नुभयो–‘सबै दृष्टिकोणले भक्तपुर वा काभ्रे उपयुक्त हो, सहरी विकास मन्त्रालयको प्राबिधिक टोलीले भक्तपुर उपयुक्त भनेर प्रतिवेदन बुझाएकै हो, हामीले चुनावमा प्रतिबद्धता जनाएकै हौ तर अहिले पार्टीको परिस्थिति फरक हुँदा समस्या आएको छ ।’ अर्का सांसद चेतनाथ सञ्जेलले हेटौडा स्थायी राजधानी अनुपयुक्त भएको बताउदै पार्टी सचिवालयको निर्देशक सहित काभ्रे वा हेटौडाकाबारेमा छलफल गरृर सहमति कायम गर्ने प्रयास भईरहेको जानकारी दिनुभयो ।

सांसद बसुन्धरा हुमागाईले काभ्रेमा राजधानी नबनाउन नेकपा भित्र निकै चलखेल भएको बताउदै काभ्रेको बिरुद्धमा अदृश्य शक्तिको समेत चलखेल बढेको बताउनुभयो । उहाँले संविधानले दिएको अधिकार प्रयोग गर्ने र पार्टील ह्वीप जारी नगर्ने हो भने दुईतिहाई बहुमत भन्दा बढी काभ्रेको पक्षमा मतदान हुने दाबी गर्नुभयो । उहाँले भन्नुभयो–‘हामी ईतिहास रचेर जान्छौ, काभ्रेको पक्षमा मतदान गर्छौ, हाम्रा सन्ततीले हामीलाई धिक्कार्ने बाटो दिदैनौ ।’

पार्टीको लिखित निर्देशक नआएकाले सुझाबलाई मान्नै पर्छ भन्ने नभएको नेकपाका अधिकांश सांसदहरुको भनाई छ ।
अर्का प्रदेश सांसद रत्न ढकालको पनि उस्तै भनाई छ । उहाँले भन्नुभयो–‘काभ्रेलाई स्थायी राजधानी बनाउन प्रस्ताव दर्ता गर्छौ, बहुमत सांसदहरुको चाहना हेटौडाको विकल्प काभ्रे नै हो, तर अहिले पार्टीको निर्देशन र बिभिन्न खालका प्रलोभन बाडेर काभ्रेको पक्षमा दुईतिहाई पुग्न नदिने षडयन्त्र भईरहेको छ ।’ उहाँले यो विषयमा पार्टीले निर्णय गर्नु र निर्देशन दिनु निकै दुखद भएको बताउदै संबैधानिक अधिकार खोस्ने प्रयास भएको गुनासो गर्नुभयो ।

अर्का प्रदेश सांसद लक्ष्मण लम्सालले हेटौडा मै पनि पार्टीको गटहरुको भेला हुनु दुखद भएको बताउदै अन्तिम समयसम्म काभ्रे राजधानी बनाउन आफूहरु लड्ने र आफ्नो मत काभ्रेका लागि जाहेर गर्ने बताउनुभयो । अर्का सांसद चन्द्र लामाले भोली २१ गते काभ्रेलाई राजधानी बनाउने प्रस्ताव आफूले पेश गर्ने बताउदै संविधान र पार्टीको विधान विपरित निर्णय आउनु विडम्बना भएको बताउनुभयो ।

उहाँले भन्नुभयो–‘पार्टीको जस्तो सुकै निर्देशन आओस, काभ्रे मै राजधानी बनाउन म प्रस्ताव दर्ता गराउँछु, निर्देशन मान्नु पर्छ भन्ने छैन, मतदानमा फ्लोर क्रस हुन्छ, हुन्छ ।’ अहिले हटौडाका प्रदेश सांसदहरुको बस्ने खाने समेत टुङ्गो नहदा र होटलमा बस्नु पर्दा तलब समेत नबच्ने गरेको गुनासो गरेका छन् । हेटौडा जाने सडक जीर्ण भएको र ज्यान जोखिममा राखेर ओहोर गर्नुपर्ने बाध्यता समेत रहेको भन्दै अधिकांश सांसदले प्रदेश राजधानी हेटौडा अनुपयुक्त रहेको प्रतिक्रिया दिएका छन् ।

सरकारले तत्काल फास्ट ट्रयाक, कान्ती लोकपथ, भिमफेदी कुलेखानी सुरुङ्ग मार्ग, फर्पिङ्ग फाखेल सडक निर्माण सम्पन्न र फर्पिङ्ग फाखेल, कुलेखानी हेटौडा सडकको स्तरोन्नती गर्नुपर्ने सांसदहरुको भनाई छ ।