जनता टाइम्स

२१ पुष २०७६, सोमबार ११:५४

गल्ती गर्ने सिपाहीदेखि एसएसपीसम्मलाई पक्राउ गर्न बन्यो प्रहरीमा ‘पर्फर्मेन्स अडिट टिम’


काठमाडौं, पुष २१

महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो)को डिआइजीमा विश्वराज पोखरेलले आउने वित्तिकै एक्सनमा उत्रिन थालेका छन् । केही दिन अघि सादा पोशाकका प्रहरी खारेज गरेका पोखरेलले आन्तरिक शुद्धीकरणका लागि ‘पर्फर्मेन्स अडिट टिम’ गठन गर्नुभएको छ ।

प्रहरीभित्र विकृति बढेको भन्दै उहाले गल्ती गर्ने सिपाहीदेखि एसएसपीसम्मलाई पक्राउ गर्ने अधिकार दिएर ‘पर्फर्मेन्स अडिट टिम’ गर्नुभएको हो । प्रहरी नियमावली ०७१ मा टेकेर मेट्रोमा कार्यरत एसपी रेवती ढकालको नेतृत्वमा विशेष टिम गठन गरिएको प्रहरीले जानकारी दिएको छ । टोलीमा उहासहित ५ जना सदस्य रहेका छन् ।

रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले प्रहरीकै आन्तरिक कमजोरी, राम्रा नराम्रा पक्षको अनुगमन, गल्ती गर्नेलाई कारबाही गर्नका लागि ‘पर्फर्मेन्स अडिट टिम’ गठन गरेको बताउनु भएको छ । रानीपोखरीले गठन गरेको टोलीको कार्यक्षेत्र उपत्यकाका तीन जिल्लाका सम्पूर्ण प्रहरी कार्यालय हुनेछन् ।

टोलीले अनुगमनसँगै गल्ती गरेको देखिए प्रहरीलाई नै पक्राउ गन सक्नेछ । ‘पर्फर्मेन्स अडिट टिम’ले प्रहरी सेवा प्रवाहको मूल्याङ्कन, अपराध अनुसन्धानको मूल्याङ्कन, साधन स्रोतको परिचालन र उपलब्धिको, सुशासनका आधारभूत कुरा पालना गरेको–नगरेको, पारदर्शिताको अनुगमन गर्नेछ । यस्तै आर्थिक अनियमिततामा शून्य सहनशीलता, मानवअधिकारको पालना गरे–नगरेको, बालबालिका र जेष्ठ नागरिकलाई गर्ने व्यावहारकोसमेत अनुगमन र मूल्याङकन गर्नेछ ।