जनता टाइम्स

२१ पुष २०७६, सोमबार १८:२३

घुससहित समातिए सामुदायिक बनका अध्यक्ष र कोषाध्यक्ष


कैलाली, पुस २१ । कैलाली जिल्लाको सिद्धनाथ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कुवेर थापा र कोषाध्यक्ष मोहनबहादुर सिंह १ लाख ६० हजार रुपैया घुससहित पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सामुदायिक बनका अध्यक्ष थापा र कोषाध्यक्ष सिंहलाई रंगेहात पक्राउ गरेको हो ।

उक्त सामुदायिक वन अन्तर्गत पर्ने कानिखोला पुल नजिकबाट सेवाग्राहीसँग माटो झिकेको बिषयमा जे.सि.भी. र टेक्टरलाई नियन्त्रणमा लिई सरकारी नियम बिपरीत आफूखुशी जे.सि.भी. र टेक्टर छोडन भनी सेवाग्राहीबाट घुस माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा कन्चनपुरबाट खटिएको अख्तियारको टोलीले अध्यक्ष थापा र कोषाध्यक्ष सिंहलाई आज पक्राउ गरेको हो ।

अध्यक्ष थापा र कोषाध्यक्ष सिंहलाई सेवाग्राहीबाट १ लाख ६० हजार घुस लिएको अवस्थामा सिद्धनाथ सामुदायिक वन उपभोक्ता समुहको कार्यालयबाट उक्त रकमसहित नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको अख्तियारले जनाएको छ ।