जनता टाइम्स

२२ पुष २०७६, मंगलवार १३:००

यसरी छमछमी नाचे चिनियाँ पर्यटक


मुग्लिन, पुस २२

नेपाल भ्रमण वर्ष २०२० अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाले पनि विभिन्न कार्यक्रम आयोजना गरिरहेका छन् । जसअन्तर्गत गाउँपालिकाले पृथ्वीराजमार्गअन्तर्गत धादिङ र चितवनको सिमानामा पर्ने मौवाखोलामा पर्यटकलाई स्वागत कार्यक्रम आयोजना गरेका थिए । पर्यटकलाई स्वागत गर्न विभिन्न सांस्कृतिक झाँकीसहित फूलको माला लिएर बसेको देखेपछि माइक्रो बसमा आएका चिनियाँ पर्यटक स्वतःस्फूर्तरूपमा ओर्लिए ।

गाउँपालिकाका अध्यक्ष गीताकुमारी गुरुङले उनीहरुलाई फूलको माला लगाइदिएर स्वागत गर्नुभयो । स्वागतपश्चात् खुशी भएका चिनियाँ पर्यटक ३० मिनेटजति कौडा गीतमा नेपालीसँगै छमछमी नाचे । अध्यक्ष गुरुङले गाउँपालिकाको पर्यटकीयस्थल र यहाँको जनजाति र सीमान्तकृत चेपाङ समुदायका बारेमा जानकारी दिँदै इच्छाकामनामा भ्रमण गर्न आग्रह गर्नुभयो । चिनियाँ पर्यटकले सामूहिक फोटो खिचेर धन्यावाद पनि दिए ।

विभिन्न देशबाट आएका सयौँ पर्यटकलाई स्वागत गरिएको गाउँपालिका अध्यक्ष गुरुङले जानकारी दिनुभयो । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउने अभियानअन्तर्गत गाउँपालिकाले पर्यटकलाई स्वागत गरिएको अध्यक्ष गुरुङको भनाइ छ । गाउँपालिकाले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन ‘भिजिट इच्छाकामना’ अभियान सञ्चालन गरिएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । अध्यक्ष गुरुङको संयोजकत्वमा ५१ सदस्यीय समितिसमेत गठन गरिएको छ ।

राजमार्गमा सरसफाइ अभियान सञ्चालन

यसैबीच इच्छाकामना गाउँपालिकाले राजमार्ग क्षेत्रको सरसफाइ अभियानलाई तीब्र बनाएको छ । इच्छाकामना गाउँपालिकाभित्र पर्ने केन्द्रीय राजधानी काठमाडौँ भित्रिने मुख्य राजमार्ग पृथ्वीराजमार्गमा सरसफाइ अभियान सञ्चालन गरिएको हो । नेपाल भ्रमण वर्ष २०२० मनाइरहँदा मुख्यराजमार्गमै फोहर देखिँदा नकरात्मक सन्देश जाने भएकाले पनि सरसफाइ अभियानलाई विशेष जोड दिइएको अध्यक्ष गुरुङले बताउनुभयो ।

अध्यक्ष गुरुङले भन्नुभयो, “हामीले फोहर व्यवस्थापनमा विशेष जोड दिएका छौँ, यो देशकै मुख्य राजमार्ग क्षेत्र भएकाले यहाँको फोहर देख्दा नकरात्मक सन्देश जान्छ, त्यसले हामीले सरसफाइलाई प्राथमिकतामा राखेका छौँ ।” इच्छाकामना गाँउपालिकाको राजमार्ग क्षेत्र र मुग्लिन, कुरिनटार, लेवाटार, केवलकार, मौवाखोला, फिस्लिङ, चुम्लिङटार, कुरिनघाटलगायतका क्षेत्रमा सरसफाइ अभियन सञ्चालन शुरु गरिएको छ ।

भ्रमण वर्षलाई लक्षित गरी सरसफाइ समितिसमेत गठन गरिएको अध्यक्ष गुरुङले बताउनुभयो । गाउँपालिकाबाट समुद्री सतहदेखि एक हजार ९४५ मिटरको उचाइमा रहेको बिहान सूर्य उदाएको मनोरम दृश्य देख्न सकिने जिल्लाकै अग्लो भूमि सिराइचुली, पुरानो सुदरमुकाम ऐतिहासिक उपर्दाङगढी, जलबिरे लामो झरना, इच्छाकाममना मन्दिर, बालगौरी मन्दिर, त्रिशूली नदीमा ¥याफ्टिङ, मनकामना मन्दिर जानका लागि सञ्चालन गरिएको नेपालकै पहिलो केबलकार मनकामना केबलकारको (बटम स्टेशन) प्रवेशद्वारलगायतका महत्वपूर्ण पर्यटकीयस्थल छन् ।