जनता टाइम्स

२२ पुष २०७६, मंगलवार १५:५०

उपेन्द्र यादव र कांग्रेस नेतृको नेतृत्वमा यसरी गरियो नख्खु खोलाको हजार रोपनी जग्गा अतिक्रमण


काठमाडौं, पुस २२ । आफूलाई मधेशका मसिहा ठान्ने उपेन्द्र यादव र कांग्रेस नेतृ चित्रलेखा यादवले नख्खु खोला नै नक्कली बनाई जनताका घर भत्काउने क्रम सुरु भएको छ । यादवद्वयको योजनामा ललितपुरको सैबुस्थित नख्खु खोलाको एक हजार भन्दा बढी रोपनी जग्गा अतिक्रमण गरेको पाइएको हो ।

नख्खु खोला बग्ने ठाउँ नै अन्यत्र सार्ने निर्णय मन्त्रिपरिषदबाट २०६५ मंसिर १ मा गरेर एक हजार रोपनी जग्गा अतिक्रमण गर्नेमा समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादव, पूर्वशिक्षामन्त्री तथा कांग्रेस नेतृ चित्रलेखा यादव, मनकामना केवलकारका संचालक राजुबाबु श्रेष्ठलगायतका भीभीआइपीहरु रहेका हुन । यादव केही दिनअघिसम्म पनि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा उपप्रधान तथा कानुन मन्त्री हुनुहुन्थ्यो । जनताको काम भन्दा पनि आर्थिक आयआर्जनमै लागेको प्रमाण फेला परेपछि प्रधानमन्त्री ओलीले स्वास्थ्य मन्त्रालयबाट कानूनमा पठाउनु भएपछि संबिधान संशोधनको ठाडो प्रस्ताव ल्याएपछि बर्खास्त गर्ने प्रधानमन्त्रीको जवाउलगत्तै सरकारबाट बाहिरिनु परेको थियो ।

सो जग्गाको निर्णय भएको बेला २०६५ सालमा उपेन्द्र यादव नै उपप्रधानमन्त्री हुनुहुथ्यो । त्यही बेलाको मन्त्रिपरिषदबाट नख्खुखोला हाल बगिरहेको ठाउँबाट सैंबुपट्टि सार्ने निर्णय गरी बागमती सभ्यता विकास समितिदेखि सबैतिर त्यो निर्णय अनुसार ब्यवस्थापन गर्न निर्देशन दिइएका थियो । मन्त्रिपरिषदको निर्णय भएको जानकारी सैबुका बासिन्दाले नख्खुखोला नै नभएको बस्तीका बीचमा नक्कली खोला बनाउन सुरु गरेपछि मात्र जानकारी पाएका थिए ।

यादवद्वयको नेतृत्वमा नख्खु खोलाको बहावको बाटो नै नक्कली बनाएर जनतालाई बिल्लीबाठ पारिएको हो । उनीहरुको कारण जीवनभरको कमाइ खर्च गरी जग्गा किनेर घर बनाएका अमृता थापा, उत्तर गुरुङ लगायतका करिब ३ सय घर परिवारलाई नै उठीबास लगाउने काम भएको छ । अहिले ती भीआइपीहरुले स्थानीयलाई धम्काएर धमाधम नख्खु खोला बगिरहेको ठाउँमा जग्गा प्लानिङ गरिरहेका छन् । जनताको घरजग्गा भएको ठाउँमा नक्कली नदी बग्ने ठाउँ हो भनी पर्खाल पनि लगाइरहेका छन ।

नक्कली नख्खुखोलामा छिटो ढल हाल्न पनि उनीहरुले सहरी विकास मन्त्रालयमा दबाब दिइरहेका छन । यादवहरुको अबैध काममा ललितपुर महानगरपालिका वडा नम्बर २५ का वडाध्यक्ष कुमार कार्कीसमेत सहभागी हुनुभएको छ । उहाँले पनि नख्खुखोलाले चर्चेको ४५ रोपनी भन्दा बढी जग्गा अतिक्रमण गरी प्लटिङ गर्ने गरी कीर्ते नख्खुखोलाको बहाव बदल्ने काममा लागेका हुन । हाल नख्खु खोला बगिरहेको ठाउँलाई १ सय मिटर पर सारी खोला बगेको बगरको सबै जग्गा कब्जा गरी प्लटिङ सुरु गरिएको हो । अर्वाैं कमाउने नियतका साथ ३ सय बासिन्दालाई उठिबास लगाउन लागिएको हो ।

यही योजनाअनुसार बागमती सभ्यता एकीकृत विकास समितिबाट धमाधम ढल हाल्नेदेखि पर्खाल लगाउने काम गराउन लागिएको छ । नख्खु खोला बगिरहेको ठाउँमा उनीहरुले जग्गा प्लानिङ गरी ललितपुरको संैबुतिर कीर्ते नख्खुखोला हो भनेर पर्खाल लाएका कारण करिब ३ सय घर परिवार विस्थापित हुने भएका हुन । पदको आडमा सार्वजनिक जग्गा हडपेपछि बीसौं बर्षअघिदेखि जीवनभरको कमाइ खर्च गरेर घर बनाएका नागरिक विस्थापित हुने भएका छन ।