जनता टाइम्स

२२ पुष २०७६, मंगलवार १७:०४

भूमि, पूँजी र प्रविधिको वितरणमा समान पहुँच नभए मुलुकमा आर्थिक विकास सम्भव हुन्न : अर्थमन्त्री खतिवडा


काठमाडौं, पुस २२ । अर्थमन्त्री डा. युवराज खतिवडाले समावेशी आर्थिक विकासका लागि उत्पादनका साधनहरुमाथि सबैको पहुँच समान हुनुपर्ने आफ्नो निश्कर्ष सुनाउनु भएको छ । भूमि, पूँजी र प्रविधिको वितरणमा समान पहुँच नभए मुलुकमा आर्थिक विकास सम्भव नभएको भन्दै त्यसैका लागि संघीयता कार्यान्यवनमा आएको अर्थमन्त्री खतिवडाले प्रष्ट पार्नुभयो ।

‘समावेसी आर्थिक विकासका लागि उत्पादनका साधनहरुमाथि सबैको पहुँच समान हुनुपर्छ, भूमि, पूँजी र प्रविधिको वितरणमा समान पहुँच नभए मुलुकमा आर्थिक विकास सम्भव हुन्न,’ संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले आज आयोजना गरेको ‘समावेशी विकास र समृद्ध नेपाल’ कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले भन्नुभयो । उहाँले संघीय संरचनाको माध्यमबाट समावेशी विकासको परिकल्पना गरिएकाले वित्तिय समावेशीकरणमा सरकारले ध्यान दिएको प्रष्ट पार्नुभयो ।

गाउँगाउँमा समतामुलक विकासका लागि स्थानीय तहले बजेट विनियोजन गर्ने र समान रुपले विकास हुने उहाँको भनाई छ । सो कामका लागि संघीय सरकारले उत्पादनका साधान र श्रोतको समान वितरणमा जोड दिएको बताउनु भयो । आर्थिक विकास समावेशी हुनका लागि आर्थिक वृद्धि समावेशी हुनुपर्ने र आर्थिक वृद्धि समावेशी बनाउनका लागि उत्पादनका साधनमाथि समावेशी पहुँचको सुनिश्चितता हुनुपर्ने अर्थमन्त्री खतिवडाको निचोड छ ।