काठमाडौं, पुस २२ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले समावेशी विकास र समृद्ध नेपालका लागि योजना तर्जुमा, कार्यान्वयन, निरीक्षण तथा मूल्याङ्कनमा तीनै तहका सरकारको सक्रिय संलग्नता र सहभागितामा प्रभावकारी स्रोत परिचालन आवश्यक रहेको बताउनुभएको छ ।
राष्ट्रिय सरोकार तथा समन्वय समितिद्वारा आज आयोजना गरेको ‘समावेशी विकास र समृद्धि’ विषयक कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले यस्तो धारणा राख्नुभएको हो । ‘हामीले गर्दै आएको अभ्यास र आवश्यकताबीचको अन्तरविरोधलाई पन्छाएर विकास र समृद्धिका लागि ठीक बाटो समातेर सरकार अघि बढिरहेको छ,’ पोखरेलले भन्नुभयो, ‘त्यसका लागि विकासमैत्री सरकारी नीति र वातावरण, सरकारी, सहकारी र निजीबीचमा सहकार्य र सहभागिता, मेहनती जनता र जनसहभागिता, इमान्दार कर्मचारीको आवश्यकता पर्छ ।’
परिवर्तन गरेको प्रणालीसँग कानून, संरचना र नीतिबीच अझै तालमेल भइनसकेको बताउँदै उहाँले त्यो स्थितिले कृषि, उद्योग, ऊर्जा, पर्यटन र पूर्वाधार क्षेत्रलाई विकासका लागि प्राथमिकीकरण गरिए पनि सेवा प्रवाह अझै ठीक ढङ्गबाट हुन नसकेको गुनासो आइरहेको बताउनु भयो ।
उहाँले मुलुकको हीत अनुकुल भए जहाँबाट पनि सहयोग लिन सकिने धारणा पनि उहाँले राख्नुभयो । ‘हाम्रो राष्ट्रिय हित अनुकूल छ भने जुनसुकै देशको पनि सहयोग लिन सकिन्छ,’ उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्