जनता टाइम्स

२३ पुष २०७६, बुधबार ०८:५१

सिरहा प्रशासनले थाल्यो सडक अतिक्रमण हटाउने अभियान


शुभनारायण कामती/ सिरहा। सिरहामा पूर्वपश्चिम लोकमार्गको सडक पेटीमा अतिक्रमण गरी बसेकालाई मंगलबारबाट हटाउने अभियान अघि बढाइएको छ । अतिक्रमण गरेर सञ्चालन गरिएका फुटपाथ व्यवसाय जस्तै फलफुल पसल, सिटि रिक्सा, विंगर, म्याजिक पार्किङ्ग, कपडा पसललगायत सडक अतिक्रमण गरि संचालन गरिएको पसल भौतिक संरचना हटाउने अभियान जिल्ला प्रशासन कार्यलय सिराहा र स्थानीय सरकारको समन्वयमा मंगलबारदेखि शुरु भएको छ ।

सडकमै व्यापार सञ्चालन हुँदै आएको फुटपाथका कारण बजार र लोकमार्गको सौंन्दर्यता क्रुप बन्दै गएको, सडक दुर्घटनामा बृद्धि, आवागमनमा असहज भएको भन्दै अतिक्रमित क्षेत्र खाली गराउन थालिनी गरको हो । पूर्व निर्णय अनुसार पहिलो चरणमा सिरहाको पूर्व पश्चिम लोकमार्ग अन्र्तगत पश्चिममा कमला र पूर्वमा बलान सम्म पर्ने कर्जन्हा नगरपालिका, मिर्चैया नगरपालिका, गोलबजार नगरपालिका, धनगढीमाई नगरपालिका र लहान नगरपालिकाको पूर्व पश्चिम लोकमार्गमा पर्ने क्षेत्रहरु सिरहाका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी, नेपाल प्रहरीका एसपी उमा प्रसाद चतुर्वेदी, सशस्त्र प्रहरीका एसपी प्रविण कडेंल, राष्ट्रिय अनुसन्धाका एसपी रमेश चन्द्र यादव लगायत सम्बन्धित पालिकाक प्रतिनिधी, नगरप्रहरी, विभिन्न राजनिति दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधी, बुद्धिजिवी, व्यापारी, संचारकर्मीको उपस्थितिमा खाली गराइएको हो ।

स्थानीय नगरपालिकाले पटक–पटक राजमार्ग छेउछाउका सडक अतिक्रमण गरी खडा गरिएका खोका, छाप्रा, फुथफाटे पसलहरु, पार्किङ्ग, निर्माण सामग्री थुपार्ने जस्ता क्रियाकलाप नरोकिएपछि नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यलय र ट्राफिक प्रहरीको संयुक्त पहलमा सडक अतिक्रमण हटाउन शुरु गरिएको जिल्ला प्रमुख अधिकारीले बताउनुभयो ।

उहाँले सडक अतिक्रमणबाट सवारी अस्त व्यस्त र दुर्घटनाको जोखिम बढेकाले अतिक्रमण हटाएर खाली नगरी नहुने अवस्था देखिएको जानकारी पनि दिनुभयो । अधिकारीका अनुसार सार्वजनिक सडक ऐन, २०३१ बमोजिम सडक क्षेत्रभित्र कुनै संरचना तथा सडक अवरुद्ध पार्ने गरी अनाधिकृत रुपमा सडक कब्जा गर्न नहुने व्यवस्था रहेको छ ।