जनता टाइम्स

२३ पुष २०७६, बुधबार १७:४६

मन्त्री पार्वत गुरुङले सुनाए महिला सशक्तिकरण अभियान सफल बनाउने भूमि व्यवस्थापन योजना


काठमाडौं, पुस २३ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले भूमि व्यवस्थापनको काममा ढिलाई गर्न नहुने बताउनु भएको छ । मन्त्री गुरुङले किसानहरुलाई भूमिहिन हुन नदिन पनि भूमिको उचित व्यवस्थापन गर्ने काममा सवै केन्द्रित हुनुपर्ने पनि प्रष्ट पार्नुभयो ।

उहाँले महिला सशक्तिकरणको अभियानलाई सफल बनाउने गरी भूमि व्यवस्थापनको कामलाई अघि बढाउने योजना पनि अघि सार्नु भयो । ‘महिलाहरुलाई आर्थिक रुपमा सशक्त बनाउन पनि उनीहरुको जमिनमाथि पूर्ण स्वामित्व स्थापित गराउने अभियानलाई अघि बढाउन जरुरी छ,’ काठमाडौंमा आज आयोजित ‘किन ओझेलमा भूमि सुधार ?’ विषयक अन्तरक्रियामा बोल्दै मन्त्री गुरुङले भन्नुभयो, ‘महिलाहरुलाई उद्यमशीलतासँग जोडेर अघि बढाउन पनि उनीहरुको भूमिमाथिको पूर्ण स्वामित्वलाई स्थापित गरेर अघि बढनुको विकल्प छैन ।’

मन्त्री गुरुङले उहाँले महिलाहरुको भूमिमाथि पूर्ण स्वामित्व स्थापित गराउन आवश्यक सुझाव दिन पनि विज्ञहरुलाई आग्रह गर्नुभयो । मन्त्री गुरुङले सरकारी जग्गा भाडामा लिएर दुरुपयोग गर्ने अभियानलाई तत्काल रोक्नुपर्ने आवश्यक्तासमेत औल्याउनु भएको छ । कार्यक्रममा बोल्दै प्रतिनिधिसभाका सांसद रामनारायण बिडारीले भूमिको उचित व्यवस्थापनका लागि ‘भू उपयोग नीति’ संशोधन गर्दै लैजाने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । त्यसैगरी संबिधानसभा सदस्य हरि रोकाले गरिखाने समुदायको पहुँच हुने गरी जमिनको व्यवस्थापन गर्ने काममा जोड दिन सरकारलाई सुझाव दिनु भएको थियो ।