जनता टाइम्स

२४ पुष २०७६, बिहीबार ०७:३३

मन्त्री मगरको निर्देशन : निर्धारित समयभित्रै मेलम्चीको पानी काठमाडौंमा ल्याउने गरी काम होस


काठमाडौं । खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनाको कामको पछिल्लो प्रगतिबारे जानकारी लिनुभएको छ । मन्त्री मगरले बुधबार मेलम्ची खानेपानी विकास समितिका पदाधिकारीहरुलाई मन्त्रालयमै बोलाएर छलफल गर्नुभएको हो । छलफलमा उहाँले सरकारले तोकेको निर्धारित समयभित्रै मेलम्चीको पानी काठमाडौंमा ल्याउने गरी कामलाई तिब्रता दिन निर्देशन दिनुभयो ।

उहाँले हेड वक्र्स (मुहान) र सुरुङ फिनिसिङको कामको प्रगति बारे जिज्ञासा राख्दै काममा ढिलाई नगर्न निर्देशन दिनुभयो । छलफलमा समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले मेलम्चीको काममा अहिले कुनै ढिलाई नभएको स्पष्ट पार्नुभयो ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको मुहानमा अहिले निर्माणको काम धमाधम भइरहेको छ । इटालियन कम्पनी सीएमसीले ठेक्का तोडेसँगै अहिले चिनियाँ कम्पनी सिनो हाइड्रोले सुरुङको बाँकी काम र हेडवक्र्स निर्माणको काम गरिरहेको छ ।

अहिलेसम्म आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । समय अघि नै काम सम्पन्न गरे निर्माण व्यवसायी ९ठेकेदार कम्पनी० लाई बोनसको व्यवस्था भएको हुनाले तोकिएको अवधि भित्रै मेलम्चीको पानी काठमाडौं आईपुग्ने समितिले जनाएको छ । टनेलको काम ९० प्रतिशत र हेडवक्र्सको काम ६० प्रतिशत सकिसकेको आयोजनाका कार्यकारी निर्देशक खत्रीले बताउनुभयो । मेलम्चीको पानी आए काठमाडौं उपत्यकाका ४० लाख जनसंख्या लाभान्वित हुनेछन् ।

आयोजना अन्तर्गत पहिलो चरणमा मेलम्चीको दैनिक १७ करोड लिटर पानी राजधानी आउनेछ । त्यसपछि दोस्रो चरणमा याङ्ग्री र लार्के खोलाको चौध–चौध करोड गरी थप ३४ करोड लिटर पानी उपत्यकामा वितरण गर्ने योजना बनाइएको छ । यता मेलम्ची खानेपानी आयोजना अन्तर्गत सुन्दरीजलमा रहेको पानी प्रशोधन केन्द्रको दोस्रो भागको काम करिब सकिन लागेको छ । पहिलो खण्ड अन्तर्गत साढे ८ करोड लिटर पानी प्रशोधन केन्द्रको निर्माण सम्पन्न भइसकेको छ भने बाँकी साढे ८ करोड लिटर पानी प्रशोधन केन्द्रको काम अन्तिम चरणमा पुगेको हो ।