जनता टाइम्स

२४ पुष २०७६, बिहीबार १४:२३

एनआरएनएका अध्यक्ष कुमार पन्तबिरुद्ध खनिए कुल आचार्य, गम्भीर आरोप लगाउँदै मागे बिशेष अधिवेशन


लन्डन, पुस २४ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का निवर्तमान उपाध्यक्ष तथा गत निर्वाचनमा अध्यक्षका प्रत्यासी कुल आचार्यले तत्काल विशेष अधिवेशनको मिति तय गर्न माग गर्नुभएको छ । एनआरएनएका अध्यक्ष कुमार पन्तसँग पराजीत भएपछि पहिलो पटक गृहनगर लण्डनमा पत्रकार सम्मेलन गरी आचार्यले बिशेष अधिवेशनको माग गर्नुभएको हो ।

नयाँ नेतृत्व अनेकन अनियमितता र अपारदर्शी गतिविधिमा संलग्न भइरहेको समाचार आइरहेकाले अब विशेष अधिवेशनको विकल्प नरहेको आचार्यको भनाई छ । एनआरएनएका निवर्तमान उपाध्यक्ष आचार्यले आर्थिक र सांगठानिक प्रतिवेदन नै पारित नगरी नवौं अधिवेशन सकिएकाले संस्थाले गरेको खर्च अवैध ठहरिन सक्ने बताउनु भयो । ‘नवौं विश्व सम्मेलनमा आर्थिक प्रतिवेदन पारित नहुनु संस्थाकै लागि दुर्भाग्यपूर्ण हो, यसले हाम्रो संस्थाको गरिमामाथि नकारात्मक असर पर्छ, संस्थाभित्रका अनियमितताका समाचारहरु बाहिर आइरहेका छन, सन २०१८ मा आयोजित विश्व ज्ञान सम्मेलनमा काटिएको टिकट तथा होटल बुकिङको हिसाब सार्वजनिक गरिएको छैन,’ आचार्यले भन्नुभयो, ‘म उपाध्यक्ष भएकै बेला २ जना सिइओ राख्दा संस्थाले धान्न सक्दैन भनेर मैले उठाएको विषय अहिले पनि रेकर्डमै छन, सभा, सम्मेलनहरुको आयोजनामा पनि पारदर्शिता कायम गरिएको छैन। संस्थालाई भर्याङ बनाएर व्यापार गर्ने र संसारभर रहेका एनआरएनहरुको विश्वासमाथि कुठाराघात गर्ने कार्यले प्रश्रय पाएको छ ।’

एनआरएनएलाई सिन्डिकेटको भरमा चलाउने प्रयासविरुद्ध आफूले उम्मेदवारी दिएको उल्लेख गर्दै आगामी दिनमा पनि खबरदारी जारी रहने आचार्यले प्रष्ट पार्नुभयो । उहाँले हालै आइसिसीको १० घण्टा लामो बैठकले गरेको मनोनयन एकपक्षीय र पूर्वाग्रहपूर्ण भएको भनि धेरैतिरबाट गुनासो आएको, क्षेत्रीय संयोजकहरुले गरेको सिफारिसलाई बेवास्ता गरी आफ्ना मानिसहरुलाई मनोनयन गरिएको जस्ता विषय संस्थाको हितमा नभएको बताउनु भयो । संघको चुनावी परिणाम घोषणा भएसँगै मौन रहेर निर्वाचित कार्यसमितिलाई निर्वाध रुपमा काम गर्न दिएको प्रष्ट पार्दै आचार्यले सन्तुलित रूपमा संघलाई नयाँ कार्यसमितिले लान नसकेपछि मैदानमा आउनु परेको बताउनु भयो ।

गैरआवासीय नेपाली संघ जस्तो सामाजिक संस्थामा नेपालमा राजनीतिक दलको हारजीतसँगै सरकार गठन भएर चलेजस्तो पक्ष र विपक्षका आधारमा विभाजनको रेखा कोर्ने नयाँ नेतृत्वको कायैशैली निन्दनीय रहेको आचार्यको भनाई छ । आफ्ना पक्षका व्यक्तिहरुलाई एकपक्षीय रुपमा नियुक्ति दिने, सम्मानजनक मतसहित थोरै कम मतले उपविजेता भएकाहरुलाई हुर्मत लिने, हरुवा भन्दै निरन्तर अपमान गर्ने काम भएको बताउँदै आचार्यले यी तमाम विकृति विसंगतिविरुद्ध अब चुप लागेर नबस्ने घोषणा गर्नुभयो । आचार्यले अक्टोबरमा काठमाडौंमा सम्पन्न संघको नवौं विश्व सम्मेलनपछि नयाँ कार्यसमितिको कामलाई लिएर संसारभरिबाट फोन र सन्देश पठाइ रहेको जानकारी पनि दिनुभयो ।

‘सबैले असन्तुष्टि व्यक्त गर्नुभएपछि बोल्न बाध्य भएको हुँ, राम्रा कुरामा साथ दिने तर, अराजकता र बेथितिको खबरदारी गर्न नछोड्ने मेरो अभियान हो, सबैको अनुरोध र संघको साख जोगाउन आवश्यक परे, फेरि आगामी नेतृत्वमा प्रतिस्पर्धा गरेर संस्थाको नेतृत्व लिनलाई तयार रहेको छु,’ आचार्यले भन्नुभयो । चुनावी प्रक्रिया र असहमति सम्बन्धी प्रश्नमा आचार्यले विश्व सम्मेलनमा संसारभरिबाट आएका एनआरएनए प्रतिनिधिले आफूलाई साथ दिएको बताउनु भयो । ‘संस्थापनपक्षले सयौं फर्जी मतदाताहरु खडा गरी गराएको एकपक्षीय निर्वाचनको नतिजालाई संस्थाको बृहत्तर हितलाई हृदयंगम गर्दै मैले स्वीकार गरेँ, तर लाखौं एनआरएनहरुको श्रम र पसिनाले यो स्थानमा आइपुगेको यो संस्थाको साख जोगाउन हामी सबैले खबरदारी गर्नु आवश्यक छ,’ आचार्यले भन्नुभयो ।

जबसम्म चुनावी प्रक्रियालाई निष्पक्ष र पारदर्शी बनाइँदैन, तबसम्म निर्वाचित पदाधिकारीहरुको वैधता सर्वस्वीकार्य हुन नसक्ने पनि उहाँको भनाई छ । ‘त्यसले संस्थाभित्र विश्वासको संकट कायमै रहन्छ, संस्थापन पक्षले जालझेल गरेर चुनाव गराउने परिपाटी रहीरहे संस्था फुट र विभाजनतर्फ जाने निश्चित छ, त्यसैले एकजनापूर्व अध्यक्षको संयोजकत्वमा हालै सम्पन्न निर्वाचनको समग्र अध्ययन गरी आगामी निर्वाचन प्रक्रियालाई कसरी निष्पक्ष र पारदर्शी बनाउने भन्ने सुझाव समिति गठन गर्न माग गर्दछु,’ आचार्यको प्रस्ताव थियो । एनआरएनएमा संरचनात्मक सुधार गर्न र चुनावी प्रक्रियालाई निष्पक्ष र पारदर्शी बनाउन आफ्नो पूर्ण सहयोग रहने प्रतिबद्धता पनि उहाँले जनाउनु भयो ।

‘संस्थाको विकास र गैरआवासीय नेपालीको हकअधिकार सुरक्षित राख्न मैले काम गरेको छु, र मजस्ता गैरआवासीय नेपाली संघका थुप्रै सिपाहीले गर्दा यो संस्था यहाँसम्म आएको हो, एनआरएनए अभियन्ताले नराम्रो काम गर्दा खबरदारी गर्नु पनि सबैको कर्तव्य हो,’ उहाँको भनाई छ । प्रवासी नेपालीका संस्थाभन्दा पनि व्यक्तिगत फाइदामा संस्था दुरुपयोग हुन पुगेको दावी गर्दै आचार्यले त्यसलाई रोक्न र सबै एनआरएनए अटाउने संस्था बनाउन आफू जस्तोसुकै कदम चाल्न तयार रहेको घोषणा गर्नुभयो । ‘खबरदारी गर्न छोड्ने छैन, अहिलेका विकृति विसंगतिविरुद्ध अघि बढ्न संसारभरिका सचेत गैरआवासीय नेपालीहरुलाई आग्रह गर्दछु,’ आचार्यले भन्नुभयो ।