जनता टाइम्स

२४ पुष २०७६, बिहीबार १७:०७

सिरहा पत्रकार महासंघको भवनमा नगरपालिकाको कार्यालय


सिरहा, पुस २४ गते । नेपाल पत्रकार महासँघ शाखा सिरहाको भवन भनी उद्‌घाटन गरिएको भवनमा सिरहा नगरपालिकाको कार्यालय सञ्चालन भइरहेको पाइएको छ । नेपाल पत्रकार महासंघको तत्कालिन केन्द्रीय अध्यक्ष डा. महेन्द्र विष्टले २०७३ माघ २८ गते उद्‌घाटन गर्नुभएको नेपाल पत्रकार महासंघ सिरहा शाखाको भवनमा सिरहा नगरपालिकाले पशु विकास शाखा संचालन भइरहेको पाइएको हो ।

नेपाल पत्रकार महासंघ शाखा सिरहाका तत्कालिन अध्यक्ष देव कुमार यादव नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य भएपछि उक्त भवन नगरपालिकाको पशु विकास शाखा संचालनका लागि दिएको बुझिएको छ । केन्द्रीय सदस्य देव कुमार यादवले भने सिरहा अस्पतालको छेऊमा नेपाल पत्रकार महासंघको कार्यालय भन्दै कोठा भाडा लिएका छन् ।

नेपाल पत्रकार महासंघ शाखा सिरहाको भवन पत्रकारहरुको लागि प्रयोग हुनुपर्नेमा नगरपालिकाको पशु विकास शाखा संचालन हुनुले जिल्लाको पत्रकारहरुमाथि नै टिक्काटिप्पण हुन थालेको पत्रकारहरुले बताएका छन् । पत्रकार महासंघको कार्यालयमा नगरपालिकाको पशु सेवा शाखा संचालन गर्न दिएर व्यक्तिगत कामको लागि प्रयोग गर्दै आएको भाडाको कोठामा नेपाल पत्रकार महासंघको बोर्ड लगाएर राख्नु पत्रकारिता जगतकै लागि दुखद भएको जिल्लाका पत्रकारहरु बताउँछन् ।