जनता टाइम्स

२५ पुष २०७६, शुक्रबार १८:००

कानुन मन्त्रालयको जिम्मा ढकाल र बाँस्कोटालाई सहरी मन्त्रालयको थप जिम्मेवारी


काठमाडौं, पुष २५

प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त रहेका दुई मन्त्रालयको जिम्मेवारी मन्त्रीलाई दिनु भएको छ । समाजवादी पार्टी सरकारमा हुँदा लिएका मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीलाई हस्तान्तरण गर्नुभएको हो ।

प्रधानमन्त्रीले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र सहरी विकास मन्त्रालयको कार्यभार समेत सम्हाल्दै आउनु भएको थियो । तर, शुक्रबारबाट कानुन मन्त्रालयको जिम्मेवारी स्वास्थ्य तथा जनसङ्‍ख्या मन्त्री भानुभक्त ढकाल र सहरी विकास मन्त्रालयको कार्यभार सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटालाई तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

शुक्रबार राष्ट्रपति कार्यालयले एक विज्ञप्ती जारी गर्दै जिम्मेवारी प्रदान गरेको उल्लेख छ । ‘आज मिति २०७६ साल पुस २५ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले मौजुदा मन्त्रिपरिषद्को कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र सहरी विकास मन्त्रालयको कार्यभार सम्माननीय प्रधामन्त्रीज्यू स्वयंले सम्हाली आउनुभएकोमा नेपालको संविधान बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार माननीय स्वास्थ्य तथा जनसङ्‍ख्या मन्त्री भानुभक्त ढकालले सम्हाल्ने गरी र सहरी विकास मन्त्रालयको कार्यभार माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सम्हाल्ने गरी तोक्नु भएको छ’, राष्ट्रपति कार्यालयद्वारा विज्ञप्तीमा भनिएको छ ।