जनता टाइम्स

२६ पुष २०७६, शनिबार १२:२५

ट्रकको ठक्करबाट बालिकाको मृत्यु


दमौली, पुस २६

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका नयाँपुलमा शुक्रबार डुम्रेबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ट्रकको ठक्करबाट सडकछेउ हिँड्दै गरेकी गोरखा पालुङटार की १० वर्षीया सुरता परियारको मृत्यु भएको छ । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो ।

ट्रकको ठक्करबाट १३ वर्षीय सुमित परियार घाइते भएको र उनको भरतपुरमा उपचार भइरहेको छ । मृतक बालिकाको दाहिने खुट्टा र कम्मरमुनिको भाग ट्रकको चक्काले पेलिएको थियो । चालक र ट्रक प्रहरी नियन्त्रणमा छन् ।

बाइस घाइतेको उपचार हुँदै

तनहुँको घिरिङ गाउँपालिकास्थित कृष्ण मोटरमार्गमा शुक्रबार भएको बस दुर्घटनामा परी घाइते भएका २२ जनाको पोखरास्थित मणिपाल अस्पतालमा उपचार भइरहेको छ । पाल्पाको रामपुरबाट पोखरातर्फ आउँदै गरेको ग१ख ६१७५ नंको बस घिरिङ थानीमाईमा अनियन्त्रित भई सडकबाट ४० मिटर तल खस्दा बसमा सवार दुई जनाको मृत्यु भएको थियो ।

दुर्घटनामा घिरिङ –१ बस्ने २० वर्षीया मुना थापा र घिरिङ–३ बस्ने ४२ वर्षीया नानीमाया गुरुङको मृत्यु भएको थियो प्रहरी नायब उपरीक्षक लामिछानेले घाइतेको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको बताउनुभयो ।