जनता टाइम्स

२६ पुष २०७६, शनिबार १२:५४

‘एक घर एक धारा’ कार्यक्रम


कञ्चनपुर, पुस २६

‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत कञ्चनपुरको भीमदत्त नगरपालिका–२ महुलियामा रु १५ करोडको लागतमा खानेपानी आयोजना निर्माणको कार्य शुरु गरिएको छ । वडाका बासिन्दाका घरघरमा शुद्ध पानी उपलब्ध गराउने उद्देश्यले खानेपानी आयोजना निर्माणको कार्य शुरु गरिएको हो ।

चालु आवमा निर्माण कार्य पूरा हुने गरी आयोजनाको कार्य दु्रत गतिमा अगाडि बढाइएको वडाध्यक्ष डम्बरबहादुर कार्कीले बताउनुभयो । आयोजनाअन्तर्गत चार लाख ५० हजार लिटर क्षमताको ट्याङ्की निर्माणको कार्य अगाडि बढाइएको छ । एक हजार १५० मिटर पाइपलाइन बिछ्याउने कार्यसमेत पूरा गरिएको छ ।

खानेपानीका लागि लागि बोरिङ गाड्ने कार्यसमेत पूरा भएको छ । खानेपानी आयोजना निर्माणको कार्य पूरा भएपछि वडाका एक हजार छ सय बासिन्दा लाभान्वित हुने भएका छन् । शुद्ध पानीको व्यवस्था नहुँदा वडाका बासिन्दा ह्यान्डपम्पको असुरक्षित पानीको प्रयोग गर्न बाध्य छन् । ह्यान्डपम्पको पानीमा आर्सेनिक र आइरनको समस्यासमेत रहेको छ ।