जनता टाइम्स

२६ पुष २०७६, शनिबार १३:२६

‘भुलवश’ युक्रेनी विमान खसालिएको इरानी सेनाको स्वीकारोक्ति


तेहरान, पुस २६

इरानको सेनाले केही दिन अगाडी इराकमा युक्रेनी विमान खसालिएको बारेमा कमजोरी भएको स्वीकार गरेको छ । सरकारी पक्षले शनिवार प्रकाशित गरेको विज्ञप्तिमा इरानको सेनाले मानवीय गल्ती कारण विमान खसालेको उल्लेख गरिएको छ । घटनामा दोषी देखिएकालाई कारबाही गरिने पनि विज्ञप्तिमा जनाइएको छ ।

विमान दुर्घटनाको समयलाई हेर्दा इरानले प्रत्याक्रमणस्वरूप हुन सक्ने सम्भावित क्षेप्यास्त्र प्रहारका लागि तयारी गरिरहेका बेला उक्त विमानलाई अमेरिकी लडाकू विमान भनेर झुक्किएर खसालेको हुनसक्ने विश्लेषण पनि गरिएको छ । उक्त घटनालाई ठूलो विपत्ति र अक्षम्य गल्ती भएको पनि इरानका राष्ट्रपति हसन रुहानीले सामाजिक सञ्जाल ट्वीटरमार्फत बताउनुभएको छ ।

युक्रेनी अन्तर्राष्ट्रिय वायु सेवाको विमान दुर्घटनामा परी चालक दलका सदस्यसहित १७६ नागरिकको मृत्यु भएको थियो । तेहरानबाट क्रिभ हुँदै टोरन्टोका लागि उडेको विमानमा अधिकांश यात्रु इरान र क्यानडाका थिए । मृतकमध्ये १५ जना बालबालिका थिए । दुर्घटनापछि तेहरानस्थित युक्रेनी दूतावासले पहिला विमानको इन्जिनमा समस्या देखिएको बताएको थियो ।

तर छानबिन हुनुभन्दा अघि विमान दुर्घटनाको कारणबारे व्यक्त टिप्पणी आधिकारिक नभएको भन्दै आफैले त्यो भनाइ फिर्ता लिएको थियो । इरानले इराकस्थित अमेरिकी सैनिकहरू बसेका दुईवटा आधार शिविरमा क्षेप्यास्त्र आक्रमण गरेको केही घण्टापछि नै उक्त विमान दुर्घटना भएको थियो ।