जनता टाइम्स

२७ पुष २०७६, आईतवार ११:३२

नेकपा सचिवालयकै निर्णय सदर : प्रदेश ३ को नाम बागमति, स्थायी राजधानी हेटौंडा कायम


हेटौंडा, पुस २७ । प्रदेश ३ को नाम वागमती र स्थायी राजधानी हेटौंडा कायम भएको छ । आज बिहान प्रदेश नं ३ को प्रदेशसभा बैठकले दुई तिहाइ बहुमतबाट प्रदेशको नाम वागमती र स्थायी राजधानी हेटौंडा कायम गर्ने प्रस्ताव पास गरेको हो ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयले यसअघि नाम र राजधानीबारे निर्णय गरेको थियो । त्यहीँ निर्णयलाई प्रदेशसभा संसदीय दलले सदर गर्दै प्रदेशसभामा पेस गरेको थियो । जसमा प्रमुख विपक्षी नेपाली कांग्रेससँगै राप्रपा, राप्रपा संयुक्त र नेमकिपाले समर्थन गरेका हुन ।

प्रदेशको नाम वागमती राख्न सहमत भएको विवेकशील साझा पार्टीले भने स्थायी राजधानी काभ्रेको धुलिखेल प्रस्ताव गरेको थियो । तर धुलिखेललाई राजधानी बनाउने प्रस्ताव प्रदेशसभाले अस्वीकृत गरेको छ । प्रदेश ३ को नाम धुलिखेल राख्न विवेकशील साझा पार्टीले प्रस्ताव गरेको थियो । सो प्रस्ताव मतदानबाट अस्वीकृत भएको हो ।

प्रदेश ३ प्रदेशसभाका ११० मध्ये १०४ सांसद मतदाननमा सहभागी थिए । जसमा ३ जनाले मात्रै धुलिखेललाई राजधानी बनाउने प्रस्तावको पक्षमा मतदान गरे । नेकपा, कांग्रेस, नेमकिपा, राप्रपा सयुक्त र राप्रपाका सांसद भने धुलिखेल बनाउन नहुने पक्षमा उभिए ।