जनता टाइम्स

२७ पुष २०७६, आईतवार १४:४३

भ्रमण वर्षले छोएन रामपुर नगरपालिकालाई


बेझाड, पुस २७

नेपाल सरकारले सन् २०२० लाई भ्रमण वर्षका रूपमा मनाउन लागिरहे पनि प्राकृतिक सौन्दर्यताले भरिपूर्ण पाल्पाको रामपुर नगरपालिकामा भने भ्रमण वर्षलाई लक्षित गरी कुनै पनि कार्यक्रम शुरु भएको छैन । देशैभरि भ्रमण वर्षको रौनकता बढेका बेला रामपुर नगरपालिकाले भ्रमण वर्ष लक्षित गरी कुनै पनि कार्यक्रम अगाडि बढाएको पाइदैन । लुम्बिनी र पोखराको बीच भागमा रहेको रामपुरमा धेरै पर्यटक भित्र्याउन सकिने सम्भावना छ ।

भ्रमण वर्ष मनाउने योजना रहेपनि पर्यटकका लागि अहिलेसम्म कुनै पनि विशेष कार्यक्रम भने नगरिएको नगरपालिकाका प्रवक्ता हुमनाथ न्यौपाने बताउनुहुन्छ । “रामपुरमा प्रशस्त पर्यटकीयस्थल छन्, भ्रमण वर्षलाई लक्षित गरेर विभिन्न कार्यक्रम गर्न सकियो भने लुम्बिनी, पोखरा आएका पर्यटक रामपुरमा आउनेछन्” प्रवक्ता न्यौपानेले भन्नुभयो । सदरमुकाम तानसेनदेखि करीब ६५ किलोमिटर पूर्वको दूरीमा रामपुर उपत्यकामा अवस्थित छ ।

रामपुर भएर देशकै गौरवको आयोजना कालीगण्डकी करिडोर सञ्चालन भइरहेको छ । उत्तरतर्फ सलल बग्दै गरेको कालीगण्डकी, समथर भू–भाग, डाडाँकाँडाको बीचमा पर्ने सुन्दर शहरको रूपमा रहेको छ रामपुर । रामपुर नगरपालिकाभित्र ऐतिहासिक तथा पर्यटकीय, धार्मिक तीर्थस्थल प्रशस्त छन् । यहाँ कास्की पोखराको फेवातालको झझल्को दिने तालपोखरा, रामघाट, राममन्दिर, सीताकुण्ड, टापुधाम, राम्चेबन, सिद्धबाबा मन्दिर, बाहुनडाँडा, खैरेनी सामुदायिक वन, रामकुवा, तातोपानी घाटलगायतका महत्वपूर्ण क्षेत्र छन् ।

रामपुर नगरपालिकाले प्रशस्त पर्यटकीयस्थल, विभिन्न जातजाति, भाषाभाषी, कला संस्कृति र रहनसहन रीतिरिवाजले भरिपूर्ण रहेपनि भ्रमण वर्षलाई लक्षित गरी कुनैपनि योजना नल्याएको उद्योग वाणिज्य सङ्घ रामपुरका उद्योग उपाध्यक्ष रुद्रनारायण श्रेष्ठ बताउनुहुन्छ । “भ्रमण वर्षमा धेरै भन्दा धेरै बाह्य पर्यटक रामपुर भित्र्याउन सकियो भने यो क्षेत्रको विकास हुनेछ, भ्रमण वर्ष लक्षित गरेर उद्योग वाणिज्य सङ्घले पनि विभिन्न कार्यक्रम गर्ने योजना छ” श्रेष्ठले भन्नुभयो ।