जनता टाइम्स

२७ पुष २०७६, आईतवार १५:१९

विश्वकर्मा समाजको राष्ट्रिय भेला सम्पन्न


चितवन, पुस २७

नेपालभरिका विश्वकर्माको साङ्गठानिक राष्ट्रिय भेला १७ बुँदे घोषणापत्र जारी गर्दै आज गैँडाकोटमा सम्पन्न भएको छ । भेलाले महासङ्घ निर्माण गर्न सातै प्रदेशबाट सातजना र थप एक महिलासहित २१ जनाको केन्द्रीय सचिवालय गठन गरेको छ । उक्त सचिवालयले आगामी एक वर्षभित्र नयाँ विधान निर्माण गरी राष्ट्रिय सम्मेलन गर्ने घोषणापत्रमा उल्लेख छ । उक्त सम्मेलनले केन्द्रीय महासङ्घ गठन गर्नेछ ।

सो भेलाले एकीकृत नेपाल राष्ट्रिय विश्वकर्मा समाजका अध्यक्ष गोपालप्रसाद विश्वकर्मा र विश्वकर्मा समाज नेपाल केन्द्रीय समिति कास्कीका अध्यक्ष गणेश बराइलीलाई तयारी समितिको संयोजक तथा विश्वकर्मा सेवा समिति चितवनका अध्यक्ष विपीन रामुदामु, विश्वकर्मा एकता समाज, इटहरीका अध्यक्ष गोपाल लकान्द्री र विश्वकर्मा कल्याण समाज पोखराका महासचिव दीपक घिमिरेलाई सहसंयोजक चयन गरेको छ ।

घोषणापत्रमा आगामी दिनमा विश्वकर्माहरुको पहिचान, कला संस्कृतिको संरक्षण तथा समानुपातिक समावेशी अधिकार र समृद्धिका लागि लागि पर्ने जनाइएको छ । साथै आगामी दिनमा दलित समुदायको विभिन्न जातजातिलाई समेत संयोजन गरी दलित अधिकारका लागि वृहत राष्ट्रिय महासङ्घ निर्माण गर्ने जनाएको छ ।