जनता टाइम्स

२७ पुष २०७६, आईतवार १६:५७

म्यान्मामा भ्रमण वर्षको प्रचार गर्न यसरी जुटे पर्वातारोहीहरू


काठमाडौं, पुस २७

सगरमाथाको सफल आरोहण गरेका पर्वातारोहीहरू र ३२५ पटक नेपाल भ्रमण गर्नुभएका बर्मेली पर्यटकलाई सम्मान गरी म्यान्मामा नेपाल भ्रमण वर्ष २०२० को प्रचार गरिएको छ । म्यान्माबाट अहिलेसम्म दुईजनाले मात्र सगरमाथाको सफल आरोहण गरेका छन् । सगरमाथा आरोहीहरू पे फ्यो आङ र विन को कोले नेपाल साहसिक पर्यटनका लागि संसारकै उत्कृष्ट स्थान भएको बताउनुभयो ।

“म्यान्मामा नेपाललाई बुद्ध जन्मस्थल भनेर बढी प्रचार गरिन्छ । तर त्यहाँका पहाड र हिमाल हाम्रा लागि रहस्य र रोमाञ्चकले भरिएका छन्”, पे फ्यो आङले भन्नुभयो, “वर्षैभरि गर्मीमा बस्ने र कहिले हिउँ नदेखेका बर्मेलीका लागि नेपालका पहाड नजीकको आकर्षक गन्तव्य हो ।” तीन सय २५ पटक नेपाल पुगेकी ड थाजिन मिन्ट आईले बुद्ध जन्मस्थल नेपालमा जाँदा प्राप्त हुने आध्यात्मिक शान्तिले आफूलाई पटकपटक नेपाल लगिरहेन बताउनुभयो ।

“म्यान्मामा चार करोड ५० लाखभन्दा धेरै बौद्धमार्गी छौँ”, थाजिन मिन्ट आईले भन्नुभयो, “हाम्रो भगवान् बुद्धको जन्मस्थान लुम्बिनी नेपालमा पर्छ भनेर जानकारी दिन सके धेरैभन्दा धेरैलाई नेपाल पु¥याउन सकिन्थ्यो ।” याङ्गुनस्थित प्रसिद्ध कान्डावजी तालको छेउमा आइतबार बिहान एक हजारभन्दा धेरै बर्मेलीमाझ नेपाल भ्रमण वर्षको प्रचार गरिएको हो । म्यान्माका लागि नेपाली राजदूत भीमकृष्ण उदासले पर्यटन वर्षसँगै यो वर्ष नेपाल र म्यान्माबीच दौत्य सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेको उपलक्ष्यमा वर्षभरि नै विभिन्न कार्यक्रम भइरहने जानकारी दिनुभयो ।

याङ्गुनका मुख्यमन्त्री फ्यो मिन थेंले दौत्य सम्बन्ध स्थापना भएको ६० वर्षमात्र भए पनि गोर्खालीहरूले सयौँ वर्षअगाडिदेखि बर्मा आएर म्यान्मा निर्माणमा सहयोग पुर्याइरहेको बताउनुभयो । “आजको म्यान्मा निर्माणमा गोर्खालीहरूको योगदान कसैको भन्दा कम छैन”, फ्यो मिन थेंले भन्नुभयो, “नेपाल र म्यान्माबीच नागरिकस्तरमा पनि राम्रो सम्बन्ध छ । अब भ्रमण वर्षले त्यसमा थप योगदान दिन सक्छ ।”

उहाँले भ्रमण वर्षको उपलक्ष्यमा नेपाल सरकारले म्यान्मा नागरिकहरूलाई भिसा शुल्क मिनाहा गरेर थप आकर्षित गर्नसक्ने बताउनुभयो । कार्यक्रममा मुख्यमन्त्री फ्यो मिन थेंले नेपाल भ्रमण वर्षका सद्भावना राजदूत म्यान्मारी अभिनेत्री उन उन, उद्योगपति अएक टुन र समाजसेवी ड नी नीलाई सम्मानपत्र प्रदान गर्नुभएको थियो । नेपाली दूतावासले कार्यक्रममा उपस्थित सात सयभन्दा धेरैलाई भ्रमण वर्ष अङ्कित टिसर्ट निःशुल्क उपलब्ध गराएको थियो । कार्यक्रमको सञ्चालन नेपाली मूलका बर्मेली प्रवीणहरि प्रधानले गर्नुभएको थियो ।