जनता टाइम्स

२७ पुष २०७६, आईतवार १८:२८

प्रदेश ३ को राजधानी हेटौंडा बनाउने पक्षमा मतदान गरेपछि पशुपति चौलागाईंले मागे माफी


काठमाडौं, पुस २७ । प्रदेश ३ को राजधानी तोक्ने क्रममा आफुले आफ्नैविरुद्ध मतदान गरेको बताउनु भएको छ । प्रदेश ३ को राजधानी तोक्ने क्रममा हेटौंडाको प्रस्तावको पक्षमा मतदान गर्नुभएका नेता चौलागाईले मतदानपछि फेसबुक पेजमार्फत पार्टीका लागि आफैबिरुद्ध मतदान गरेको भन्दै असन्तुष्टि पोख्नुभएको हो ।

चौलागाइले भन्नुभएको छ, ‘मनमोहन अधिकारी, जननेता मदन भण्डारी जस्ता अग्रजले नेतृत्व गरि निर्माण भएको यो विशाल कार्यकर्ताको संलग्नता रहेको पार्टी हजारौंले वलिदानी गरेर शसस्त्र र शान्तिपूर्ण आन्दोलनका अनेक रूपहरूलाई प्रयोग गर्दै यहाँसम्म आईपुग्दा संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासको चरणमा आवश्यक पर्ने संरचनाहरू निर्माणको यो अभियानमा जनमत, संविधानको भावना, भूगोल, जनसंख्या, शसस्त्र र शान्तिपूर्ण जनआन्दोलनको माध्यमबाट प्राप्त संघीयताको मर्मविपरित आज मैले मेरै विरूद्द समेत मतदान गरेँ ।’

चौलागाइले स्व. मदन भण्डारीको जीवनसाथी सम्माननीय राष्ट्रपति, झापा आन्दोलनको एक संस्थापक युग पुरूष प्रम तथा पार्टी अध्यक्ष र सशस्त्र विद्रोहका नायक पार्टी अध्यक्ष भएको वेलामा समेत मैले जनमतको भावनाको प्रतिनिधित्व गर्न नपाएको भन्दै असन्तुष्टि जनाउनु भएको छ ।

‘तत्कालीन मालेको पार्टी सदस्य एमाले हुँदैं ४० वर्षको राजनीतिक यात्रामा अनेकौं गल्ती कमजोरी भए होलान् तर जानेर र थाहा पाउँदापाउँदै गल्ती गरेँजस्तो लाग्दैन !! तर आज मलाई नेकपाको केस र प्रदेश सभा सदस्यको नाताले जे निर्णय गर्नुपरयो आफ्नै कामप्रति दुखित छु । काभ्रेमा प्रदेशको राजधानी राख्ने कुरामा मत दिन सकिन !!! क्षमा चाहान्छु’, चौलागाईले भन्नुभएको छ, ‘४० वर्षको यात्रा आफुमाथिको पार्टीको लगानी र आन्दोलनमा आफ्नो लगानी यसलाई नकार्न सकिन !!!!!,’  ।