जनता टाइम्स

२८ पुष २०७६, सोमबार ०७:१८

तीस वर्षसम्म दैनिक ८ सय टन फलाम उत्पादन हुने खानीको सफल परीक्षण, अव चाँडै उत्खनन


नवलपरासी, पुस २८ । नवलपरासीको धौंवादीमा अब फलाम उत्खननको काम चाँडै अघि बढ्ने भएको छ । उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयले धौंवादी फलाम कम्पनी लिमिटेडको स्थापना भइसकेकोले अब फलाम उत्खनन् चाँडै हुने जानकारी दिएको छ ।

उद्योग सचिव यमकुमारी खतिवडाले धौंवादी फलाम उत्खनन्को काम चाँडै अघि बढ्ने जानकारी दिनुभयो । फलाम उत्खनन् एवं उत्पादनको लागि फलाम कम्पनी स्थापना भइसकेको र परीक्षण लागि चीन पठाइएको फलामको नमुना परीक्षण सफल भएको सचिव खतिवडाले बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयअघि फलाम खानी सञ्चालनको तयारीमा रहेको जानकारी दिनुभएको थियो ।

‘गुणस्तर सम्बन्धि विषयको सफल परीक्षण भइसकेको छ’ सचिव खतिवडाले भन्नुभयो, ‘उत्खनन् र प्रशोधनका लागि कम्पनी खडा गरेर सञ्चालनको मोडालिटी तयार भइसकेको छ ।’ धौंवादी फलाम खानीबाट ३० वर्षसम्म दैनिक ८ सय टन फलाम उत्पादन गर्न सकिने सम्भावना परीक्षणका क्रममा देखिएको छ ।

यसअघि मन्त्रिपरिषद्ले गत भदौमा नवलपरासीको धौंवादीमा ‘धौंवादी फलाम कम्पनी’ खोल्ने निर्णय गरेको थियो । त्यसअघि फलामको नुमना परीक्षणका लागि नेपाल सरकारले ५ टन फलाम चीन पठाएको थियो ।