जनता टाइम्स

२८ पुष २०७६, सोमबार १३:३४

युएईका युवराज नाह्यानद्धारा विभिन्न देशका नेताहरुसँग कुराकानी


अबुदाबी, पुस २८

संयुक्त अरब इमिरेट्स (युएई) का युवराज शेख मोहम्मद बिन जायद अल नाह्यानले विभिन्न देशका नेताहरुसँग कुराकानी गर्नुभएको छ । उहाँले इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोसँग युएईको राजधानी अबुदाबीमा भेटेर आइतबार कुराकानी गर्नुभएको हो । भ्रमणका लागि आउनुभएका विडोडोलाई स्वागत गर्दै उहाँले विभिन्न विषयमा कुराकानी गर्नुभएको अधिकारीहरुले जनाएका छन् ।

“आज मैले इन्डोनेसियाका राष्ट्रपति तथा मेरा साथी जोको विडोडोलाई स्वागत गर्दै दुई पक्षीय कुराकानी गरेका छौँ,” युवराज शेख मोहम्मदले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नुभएको छ । उहाँले साझा चासो र दुई पक्षीय हितका बारेमा पनि कुराकानी गरेको सामाजिक सञ्जालमार्फत् नै जानकारी दिनुभएको छ । विषेशगरेर अर्थतन्त्र, लगानी, व्यापार र विकासका क्षेत्रका साथै दुई देशको मित्रतालाई थप मजबुद बनाउने बारेमा कुराकानी भएको उहाँले बताउनुभएको छ । त्यसैगरी उहाँले फ्रान्सका राष्ट्रपति एम्यानुएल मार्कोनसँग पनि आइतबार नै कुराकानी गर्नुभएको छ ।

फ्रान्सका राष्ट्रपतिसँग भने उहाँले टेलिफोनमा कुराकानी गर्नुभएको हो । “मैले फ्रान्सका राष्ट्रपति एम्यानुएल मार्कोनसँग फोनमा कुराकानी गरेको छु, मलाई उहाँले फोन गर्नुभएको थियो,” उहाँको आधिकारिक ट्वीटर हेन्डलमा लेखिएको छ । उहाँले फ्रान्सका राष्ट्रपतिसँग पनि सहकार्यमा जोड दिदै आपसी सहयोग र सम्वन्ध विस्तारकै बारेमा कुराकानी भएको बताउनुभयो । साथै महत्वपूर्ण क्षेत्रीय विषय, अन्तर्राष्ट्रिय विकासलगायतका विषयमा पनि आफूहरुले छलफल गरेको युएईका युवराजले उल्लेख गर्नुभएको छ ।

“हामीले हाम्रा साझा चासो र सरोकारका विषयसँगै क्षेत्रीय सुरक्षा र स्थायित्वका बारेमा कुराकानी गरेका छौँ,” युएईको सुरक्षा निकायको सर्वोच्च उपकमाण्डर समेत रहनुभएका शेख मोहम्मदले ट्वीटरमा लेख्नु भएको छ । उहाँले यसअघि गत शनिबार नै रुसका राष्ट्रपति भ्लादिमिरि पुटिनसँग पनि विविध विषयमा छलफल गर्नुभएको थियो । उहाँहरुका बीचमा पनि विकसित पछिल्लो घटनाक्रम, दुई पक्षीय सम्वन्ध र सरोकारका विषयसँगै क्षेत्रीय सुरक्षा तथा चासोका विषयमा कुराकानी भएको हो ।