ललितपुर, पुष २८
अन्तर पुस्ता महिलावादी समूहको भेलाले उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले सभामुखका विषयमा लिएको अडानको उच्च कदर गरेको छ । लामो समयदेखि नेपालको महिला आन्दोलनमा संलग्न ७० भन्दा बढि महिलाहरूको सहभागिता रहेको भेलाले उपसभामुखको रुपमा डा. तुम्बाहाम्फेले लिएको अडानले सबैको शिर उच्च बनाएको निष्कर्ष निकालेको हो ।
राजधानीमा आज भएको भेलाले अबरुद्ध संसद र सभामुख, उपसभामुख सम्बन्धी बिषयका बारेमा छलफल गर्दै उपसभामुखको पक्षमा आफुहरुलाई अगाडी सारेका हुन् । जनप्रतिनिधिमूलक संस्थालाई लामो समयसम्म बन्दी बनाएर राखिएकोप्रति गम्भीर चासो प्रकट गर्दै भेलाले बिधेयक अधिवेशनका रुपमा चिनिने हिउँदे अधिबेशनमा पास गर्नु पर्ने नागरिकता लगायतका बिधेयकहरूप्रति बिशेष चासो राखेको छ ।
उपसभामुखको रुपमा डा. तुम्बाहाम्फेले अहिलेसम्म गर्दै आएको काममा कतै पनि विवाद नआएको र उनले आफूलाई प्राप्त जिम्मेवारीलाई इमान्दारी र कुशलताकासाथ निर्वाह गरेकाले अबको सभामुख उनैलाई हुन दिन सबै राजनीतिक दलहरूबाट विवेकपूर्ण निर्णय हुनेमा आफूहरू बिश्वस्त रहेको भेलामा सहभागी अधिकारकर्मी तथा वरिष्ठ अधिवक्ता मिरा ढुंगानाले बताउनु भयो ।
कार्यक्रममा मानव अधिकारकर्मी, कानून व्यवसायी, पत्रकार तथा संचारकर्मी लगायत नागरिक समाजका विभिन्न अन्तर पुस्ता समेट्ने महिला तथा पुरुषहरूको सहभागिता रहेको थियो । अधिकारर्की संजिता तिम्सिनाले भेलामा नेपालको राजनीतिमा महिलाको भूमिका, सहभागिता र योगदानको पुनरावलोकन गर्दै जननिर्वाचित संस्था निर्माणका लागि ५१ प्रतिशत महिला नागरिकले मत प्रयोग गरेको स्मरण पनि गरेको जानकारी दिनुभयो ।
भेलाले यो जटिल र महत्वपूर्ण समयमा न्याय र समानताको पक्षमा बोल्ने नागरिक समाजका प्रतिनिधिहरू, प्राज्ञिक व्यक्तित्वहरू, राजनीतिक विश्लेषकहरू, मिडिया, महिला तथा पुरुष राजनीतिकर्मीहरूको सह्राहना गर्दै राजनीतिक महिला आन्दोलनको खोजी पनि गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्