जनता टाइम्स

२९ पुष २०७६, मंगलवार ०९:२०

मिटरब्याजी नेता यादवको घरमा प्रहरीको छापा


सर्लाही, पुष २९

ऋण लगानी गर्दा ठगी गरेको आरोपमा पक्राउ परेका सर्लाही बरहथवाका रामबाबु राय यादवको घरमा प्रहरीले सोमबार खानतलासी गरेको छ ।

सर्वसाधारणलाई ऋण दिँला कपाली तमसुक बनाएर उठिवास लगाएको आरोपमा पक्राउ परेका यादवको बरहथवा नगरपालिका–१०, सीतापुरस्थित घरमा प्रहरीले दिउँसो खानतलासी गरेको हो । त्यसक्रममा यादवले विभिन्न व्यक्तिलाई ऋण प्रवाह गर्दा गरेको कागज र विभिन्न बैङ्कका चेक बरामद भएको सर्लाहीका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिनुभयो ।

खानतलासी लिँदा बरामद भएको कागजातले घटनाको अनुसन्धानमा सहयोग पुग्ने प्रहरीले जनाएको छ । यादवको घरमा खानतलासी गर्न जिल्ला प्रहरी कार्यालय मलङ्गवाको मुद्दा फाँटका प्रहरी निरीक्षक (इन्सपेक्टर) उमाशङ्कर गुप्ता र ईलाका प्रहरी कार्यालय बरहथवाबाट प्रहरी निरीक्षक (इन्सपेक्टर) राजेन्द्र यादवको नेतृत्वमा प्रहरी टोली परिचालन भएको थियो । प्रहरीले यादवको घरमा झण्डै दुई घण्टा लगाएर खानतलासी गरेको हो ।

पीडितले काठमाडौंस्थित गृह मन्त्रालयमा पुगेर मिटर ब्याजी यादवले ठगी गरेको भन्दै उजुरी गरेपछि उनलाई प्रहरीले यही पुस २३ गते सर्लाहीको हरिपुरबाट पक्राउ गरेको थियो । भेष परिवर्तन गरी भाग्दै गरेको अवस्थामा यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पीडितको उजुरीका आधारमा प्रहरीले मिटरब्याजी यादवविरुद्ध जिल्ला अदालतबाट १० दिनको म्याद लिएर अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक पोखरेलले बताउनुभयो ।

यादवले ऋण प्रवाह गर्दा लिएको ऋणको भन्दा धेरैको कागज बनाई उठिवास लगाएको भन्दै कारवाही हुनुपर्ने मागसहित पीडितहरुले बरहथवा बजारमा प्रदर्शन गरेका थिए । यस्तै, यादव आवद्ध राष्ट्रिय जनता पार्टी नेपाल राजपाले पनि उनको बचाउ गर्दै बरहथवा बजारमा बेग्लै ¥याली निकालेको थियो ।

राजपा नेपालका केन्द्रीय सदस्य समेत रहेका यादव गएको स्थानीय तह निर्वाचनमा पार्टीको तर्फबाट बरहथवा नगर प्रमुखको उम्मेदवार बनेका थिए । तर उनी चुनावमा पराजित भए । (गोरखापत्र)