जनता टाइम्स

२९ पुष २०७६, मंगलवार १५:२६

धुलिखेल–बर्दिवास सडक स्तरोन्नति शुरु


काठमाडौं, पुस २९

धुलिखेल–सिन्धुली–बर्दिवास सडकअन्तर्गत विभिन्न खण्डमा कालोपत्र शुरु गरिएको छ । चालू आर्थिक वर्षमा झण्डै ४२ किलोमिटर सडक स्तरोन्नतिको योजना रहेकामा अहिलेसम्म पाँच किमी सकिएको र बाँकी सडक स्तरोन्नति हुने क्रममा रहेको धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजनाले जनाएको छ ।

एक सय ६० किलोमिटरको सो सडकमा चार खण्ड छन् । चारै खण्डमा मर्मतको काम भइरहे पनि पहिले सम्पन्न नेपालथोक–धुलिखेल खण्डमा सडक मर्मत गर्नुपर्ने देखिएको छ । यो सडक सम्पन्न भएको झण्डै १८ वर्ष भइसकेको छ । सबैभन्दा पछि सम्पन्न भएको खण्डसमेत आठ वर्ष भइसकेकाले अहिले मर्मत गर्न लागिएको आयोजना व्यवस्थापक सुर्यबहादुर भाटले बताउनुभयो ।

उहाँले भन्नुभयो, “स्तरोन्नतिका लागि ठेक्का सम्झौता पनि भइसकेको छ ।” काठमाडौँलाई पूर्वी तराईसँग जोड्ने मार्गका रूपमा रहेको सो सडक जापान सरकारको आर्थिक सहयोगमा निर्माण भएको थियो । सडक चार खण्डमा निर्माण भएको थियो ।

सोमध्ये बर्दिवास–सिन्धुली बजार (३७ किमी लम्बाइ), सिन्धुलीबजार–खुर्कोट (३७ किमी), खुर्कोट–नेपालथोक (३७ किमी) र नेपालथोक–धुलिखेल (५०) किमी रहेको छ । जापान सरकारको सहयोगमा सन् १९९६ मा निर्माण शुरु गरेर सडक सन् २०११ मा सम्पन्न भएको आयोजनाले जनाएको छ । नौ पुल रहेका उक्त सडक खण्डमा सवारी साधनको गति २० देखि ४० किमी रहेको छ ।