जनता टाइम्स

२९ पुष २०७६, मंगलवार १६:५३

राजनीतिक जटिलता छलफलबाटै फुक्ने नेकपा अध्यक्ष प्रचण्डको उद्घोष


चितवन, पुष २९

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिमा देखिएको जटिलता छलफलबाटै फुक्ने बताउनु भएको छ । उहाले केही समय निरन्तर छलफलको आवश्यकता देखिएको बताउदै केन्द्रीय राजनीतिमा भने जटिलता देखिएको बताउनु भएको हो ।

मंगलबार चितवनको माडी पुग्नु भएका प्रचण्डले भन्नुभयो, ‘म आउने समय भएर माडी आएको होइन । काठमाडौंमा तपाईंहरूले देख्नुभएको छ । केन्द्रीय राजनीतिमा कहिलेकाहीँ अलिअलि जटिलता देखा पर्छन् । तिनलाई समाधान गर्न लगातार छलफल गर्नुपर्ने थियो ।’

यद्यपी उहाले राजनीतिक जटिलता के हो भन्ने खुलाउनु भएन् । ‘निकै दबाब थियो, साथीहरू–नेताहरूले यस्तो बेला बाहिर नजान भनेका थिए,’ प्रचण्डले भन्नुभयो, ‘समाधान गर्न समय दिनुपर्ने छ । ’ उहाले आफू २ घण्टाका लागि मात्रै माडी आएको पनि बताउदै काठमाडैं फर्किर पुन थुप्रै मिटिङ गर्नुपर्ने जानकारी समेत दिनुभयो ।

प्रथम माडी खिचरा महोत्सवको उद्घाटन गर्दै प्रचण्डले आफू माडीलाई मणि बनाउने अभियानमा निरन्तर जुटिरहेको बताउनु भयो । कृषि, पर्यटन, विभिन्न भौतिक पूर्वाधार निर्माणसँगै स्थानीयको जीवनस्तर उकास्ने विभिन्न काम भइरहेको बताउँदै उहाले सवैको साथ रहे छिट्टै नै मणि बन्ने बताउनु भयो ।