जनता टाइम्स

१ माघ २०७६, बुधबार १२:३०

उपसभामुखको राजिनामापछि मात्र सभामुखको टुंगो लाग्ने नेकपा प्रवक्ता श्रेष्ठको खुलासा


गोरखा, माघ १

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले उपसभामुखको राजिनामा पछि मात्र पार्टीले सभामुखको चयन गर्ने बताउनु भएको छ । सभामुखको उम्मेदवार चयन नभएसम्म राजिनामा नदिने अडान उपसभामुख शिवमाया तुम्बाहाङ्फेले गरिरहेका बेला प्रवक्ता श्रेष्ठले सो कुरा बताउनु भएको हो ।

गृहजिल्ला गोरखामा आज विहान संचारकर्मीसँग कुरा गर्दै उहाले मुलुकले छिटो सभामुख पाउनु पर्ने उल्लेख गर्दै अब ढिलो गर्न नहुने पनि बताउनु भयो । उपसभामुखले राजीनामा नदिए के हुन्छ ? भन्ने प्रश्नमा श्रेष्ठले भन्नुभयो, ‘उहाँले राजीनामा नदिए के हुन्छ ? भन्ने हामीले सोचिसकेका छैन । उहाँले राजीनामा दिनुहुन्न र नदिए के गर्ने भन्ने हामीले सोचेको छैन । उहाँ वौद्धिक व्यक्तित्व पनि हुनुहुन्छ । उहाँले विवेक प्रयोग गरेर राजीनामा दिनुहुन्छ भन्नेमा हामी विश्वस्त छौं । उहाँले राजीनामा दिनुहुन्न भन्ने कल्पना पनि गरेका छैनौं ।’

प्रवक्ता श्रेष्ठले उहा सभामुख बन्नका लागि पनि उपसभामुखबाट राजीनामा दिनुपर्ने उल्लेख गर्नुभयो । संविधानअनुसार एकै पार्टीबाट सभामुख र उपसभामुख चयन गर्न नमिल्ने भन्दै उनले उपसभामुखले राजीनामा दिनुको विकल्प नरहेको बताउनु भयो ।