जनता टाइम्स

१ माघ २०७६, बुधबार १३:०६

भन्सार छलेर ल्याइएका ६१ बोरा कपडा बरामद


काठमाडौं, माघ १

नेपाल प्रहरीले भन्सार छलेर ल्याइएका ६१ बोरा कपडासहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले चन्द्रनिगाहपुरबाट काठमाडौँ आउँदै गरेको ना५ख ९६०५ नंको कन्टेनर जाँचका क्रममा ६१ बोरा कपडा लुकाएर ल्याएको अवस्थामा आज बिहान नियन्त्रणमा लिएको हो ।

महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले मकवानपुरका ४२ वर्षका आनन्द लामाले भन्सार छलेर ल्याएको कपडा बरामद गरिएको जानकारी दिनुभयो ।

“कन्टेनर गाडीमा मकैको बोराभित्र लुकाएर ल्याएको अवस्थामा नियन्त्रणमा लिएका हौँ”, उहाँले भन्नुभयो । उक्त सामानको मूल्य रु ६० लाख बराबर रहेको छ । पक्राउ परेकालाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि भन्सार कार्यालय सानोगौचरन पठाइएको प्रहरीले जनाएको छ ।