जनता टाइम्स

१ माघ २०७६, बुधबार १४:२५

पूर्व–पश्चिम राजमार्गको सडक अतिक्रमण हटाइने


भद्रपुर, माघ १

झापामा पूर्व–पश्चिम राजमार्ग अतिक्रमण गरी निर्माण गरिएका सबै संरचना हटाइने भएको छ । डिभिजन सडक कार्यालय दमकले झापाका स्थानीय तहलाई सडक अतिक्रमण गरेर बनाइएका ती संरचना हटाउन पत्राचार गरेको छ ।
पूर्व–पश्चिम राजमार्गको काँकडभिट्टादेखि दमकसम्मको ५० किलोमिटर खण्डमा छ वटा नगरपालिका क्रमशः मेचीनगर, विर्तामोड, अर्जुनधारा, कनकाई, शिवसताक्षी र दमक पर्दछ भने एउटा कमल गाउँपालिका पर्दछ ।

सडकको सीमा मिचेर बनाइएका घर, टहरालगायतका संरचना अविलम्ब हटाएर सडकको जग्गा खाली गर्न सबै नगरपालिका तथा गाउँपालिकालाई पत्राचार गरिएको सडक कार्यालयले जनाएको छ । अहिलेसम्म स्थानीय तहले राजमार्गको अतिक्रमण हटाउने कदम चालेका छैनन् ।

एशियाली राजमार्गसमेत निकट भविष्यमा निर्माण हुने र अहिले अतिक्रमणका कारण सवारी दुर्घटनामा वृद्धि भएका कारण अतिक्रमण हटाउन निर्णायक पहल गरिएको डिभिजन सडक कार्यालय दमकका प्रमुख श्यामकुमार यादवले बताउनुभयो ।

सार्वजनिक सडक ऐन २०३१ अनुसार स्थानीय तहले सम्झाउँदा पनि हट्न नमानेमा प्रशासनको सहयोग लिएर जुनसुकै बेला बल प्रयोग गरेर अतिक्रमण हटाइने प्रमुख यादवले बताउनुभयो । सबै सडकलाई अतिक्रमणबाट जोगाउने जिम्मेवारी स्थानीय सरकारको भएता पनि जनप्रतिनिधिहरुले बेवास्ता गरेको सडक कार्यालयका प्रमुख यादवको आरोप छ ।

उहाँले राजमार्ग ५० मिटरको हुने र छेउका नम्बरी जग्गाधनीले समेत क्रङ्क्रिटको संरचना बनाउँदा सडकको सीमाबाट छ मिटर टाढा मात्र बनाउनुपर्ने नियम रहेको जानकारी दिनुभयो । झापामा दमक नगरपालिकामा सबैभन्दा बढी सडक अतिक्रमण गरेर बनाइएका टहरा तथा खुद्रे पसल रहेका छन् ।

उहाँले कनकाईको सुरुङ्गा बजार, विर्तामोडको बजार क्षेत्र र मेचीनगरको चारआली क्षेत्रमा अतिक्रमित संरचना छन् । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले सडक कार्यालयबाट अनुरोध आएमा सुरक्षाकर्मी लगाएर अतिक्रमण हटाउन प्रशासन तयार रहेको बताउनुभएको छ ।