जनता टाइम्स

१ माघ २०७६, बुधबार १५:२७

मुलुकमा मनाइने चाडपर्व र संस्कृतिहरुको संरक्षण तथा संवद्र्धन गर्नु सबैको दायित्व हो : मुख्यमन्त्री राई


बिराटनगर, माघ १ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले माघे सङ्क्रान्ति तथा माघीपर्व–२०७६ र यले संवत् ५०८० को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीमा सुख, शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले आज जारी गर्नुभएको शुभकामना सन्देशमा भनिएको छ, ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिएको सुन्दर देश हो । जातीय तथा धार्मिक सांस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा मकर सङ्क्रान्ति, माघीपर्व तथा यले संवत्लाई विभिन्न समुदायले आफ्नो मुख्य पर्व र वर्षको रुपमा हर्षोल्लासपूर्वक धुमधामले मनाउने गरिएको छ ।’

मुख्यमन्त्री राईले नेपालका प्रत्येक जातजाति र धर्मावलम्बीका आ–आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक चाडपर्व छन् र यी पर्वले नयाँ उमङ्ग र उत्साहसाथ एक आपसमा एकता तथा भाइचारा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको सन्देशमा उल्लेख गर्नुभएको छ ।

“तरुललगायतका कन्दमुल, घ्यूचाकु तिलको लड्डु र खिचडीलगायतका परिकार खाई मनोरञ्जनपूर्वक खुशी साटासाट गरी मनाइने यस चाडले हामी नेपालीबीच बन्धुत्व एकता र सद्भाव कायम राख्न मद्दत पुर्याएको छ,’ सन्देशमा उहाँले भन्नुभएको छ, मुलुकमा मनाइने यस्ता चाडपर्व र संस्कृतिहरुको संरक्षण तथा संवद्र्धन गर्नु हामी सबैको दायित्व हो ।’

मुख्यमन्त्री राईले यस्ता चाडले नेपालीबीच शान्ति, एकता, सद्भाव र सहिष्णुता कायम गर्दै स्वच्छ, सुखी र समुन्नत प्रदेश निर्माणमा प्रेरणा मिलोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।