जनता टाइम्स

२ माघ २०७६, बिहीबार ०८:४४

अमेरिका, जापान र कोरियामा तनहुँको कफी निर्यात, बढिरहेछ माग


तनहुँ, माघ २ । तनहुँमा उत्पादित कफी अमेरिका, जापान र कोरीया निर्यात भईरहेको छ । तनहुँ कफी उत्पादक कृषि सहकारी संघका अनुसार तनहुँमा उत्पादित कफी ती मुलुकमा निर्यात भईरहेको छ । तनहुँको कफी निकै गुणस्तरयुक्त भएको कारण विदेशमा बढि माग भएको तनहुँ कफी उत्पादक कृषि सहकारी संघका अध्यक्ष शिव बोहोराले बताउनुभयो । विगत एक दशकदेखि तनहुँको कफी तेश्रो मुलुकमा निर्यात हुने गरेको बोहोराले जानकारी दिनुभयो ।

तनहुँको कफी उच्च गुणस्तरयुक्त रहेको विदेश निर्यात गर्ने निकायले जानकारी दिएको र ल्याव टेष्टबाट पनि प्रमाणित भएको बोहोराले बताउनु भयो । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको समन्वयमा तनहुँमा उत्पादित कफी तेश्रो मुलुक निर्यात गरिदै आएको उहाँले जानकारी दिनुभयो । जिल्ला भर रहेका १२ वटा कफी उत्पादक कृषि सहकारी संस्थामार्फत र व्यक्तिगत रुपमा उत्पादन भएका कफी जिल्ला कृषि सहकारी संघ मार्फत राष्ट्रिय चिया तथा कफी विकास बोर्डको समन्वयमा तेश्रो मुलुक निर्यात हुने गरेको बोहोराले बताउनुभयो ।

तनहुँमा भानु नगरपालिकामा सबैभन्दा बढी कफी उत्पादन हुने गरेको छ । उक्त वडामा मात्र १० वटा कफी उत्पादन गर्ने सहकारी संस्थाहरु क्रियाशिल रहेको अध्यक्ष बोहोराले जानकारी दिनु भयो । त्यसबाहेक बन्दिपुर र देवघाट गाउँपालिकामा पनि कफी उत्पादन गर्ने सहकारी र कृषक क्रियाशिल छन् ।

बोहोराले भानु नपाको वडा नम्बर १० चोक चिसापानीमा चार रोपनी जग्गामा व्यवसायी कफी खेती गर्नु भएको छ । उहाँ विगत १७ बर्षदेखी कफी खेतीमा संलग्न हुनुहुन्छ । अन्य बाली भन्दा कफीमा आम्दानी धेरै हुने भएकोले आफु कफी खेतीमा लागेको उहाँले बताउनुभयो । एउटा बोटबाट एक वर्षमा कम्तीमा एक हजार रुपैयाँ सम्म आम्दानी हुने गरेको बोहोराको अनुभव छ ।

हेल्भेटासको सहयोगमा गाउँमै स्थापना गरिएका संकलन केन्द्रमा कफी संकलन गरि उक्त केन्द्र मार्फत नै भुक्तानी दिने व्यवस्था मिलाईएको छ । प्रत्येक प्रराम्भिक सहकारी संस्थामा राखिएका पल्पर मेसिन मार्फत कफीको प्रशोधन गर्ने व्यवस्था समेत मिलाईएको बोहोराले जानकारी दिनुभयो ।

समुन्द्री सतहबाट एक हजारदेखि दुई हजार मिटरको उचाईको जमिन कफी उत्पादनको लागि योग्य रहेको अर्का कफी कृषक कृष्णबहादुर खड्काले जानकारी दिनु भयो । खड्काले चार रोपनी क्षेत्रफलको जग्गामा कफीको नर्सरी समेत स्थापना गुर्न भएको छ । नर्सरीमा उत्पादित कफीका विरुवा सबै कफीका प्रराम्भिक सहकारीले नै खरिद गरि कृषकहरुलाई विक्री गर्ने खड्काले जानकारी दिनु भयो ।

तनहुँमा हाल ४१ हेक्टर जमिनमा कफीको खेती हुने गरेको कृषि ज्ञानकेन्द्र तनहुँले जनाएको छ । तनहुँमा वार्षिक १५ मेट्रिक टन ग्रीन विन कफी उत्पादन हुने कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिनु भयो । जिल्ला भर करिब दुई सय घर परिवार कफी खेतीमा संलग्न रहेको तिवारीले बताउनुभयो ।

तनहुँमा २ हजार हेक्टर जमिन कफी खेतीका लागि उपयुक्त रहेको छ । अरु अन्नबाली तथा फलफुलको तुलनामा कफी खेतीबाट धेरै आम्दानी हुने भएकाले कृषकहरु पछिल्लो समय कफी खेती तर्फ आकर्षीत भएको र कृषि ज्ञान केन्द्रले पनि कृषकहरुलाई त्यसतर्फ प्रोत्साहन गरेको तिवारीले बताउनुभयो ।