जनता टाइम्स

२ माघ २०७६, बिहीबार ०८:५७

रुसका प्रधानमन्त्रीबाट राजीनामा, राष्ट्रपति पुटीनले देशमा संवैधानिक सुधारको प्रस्ताव अघि सारे


 

काठमाडौं, २ माघ ।   रुसका राष्ट्रपति भ्लादिमिर पुटीनले देशमा व्यापक संवैधानिक सुधारको प्रस्ताव अघि सारेपछि रुसका प्रधानमन्त्री दिमित्री मेदवेदेव र उनको पुरै मन्त्रिमण्डलले राजीनामा दिएको छ । दिमित्री मेदवेदेवले जनाएअनुसार राष्ट्रपतिको प्रस्तावले सत्ता सन्तुलनमा व्यापक बदली हुने अवस्था रहेको छ । उनका अनुसार यो परिवर्तन जब लागु हुन्छ त्यसले संविधानका सबै धारालाई मात्रै बदल्ने छैन सत्ता सन्तुलन र शक्तिमा पनि परिवर्तन आउनेछ । निवर्तमान प्रधानमन्त्रीले भनेका छन्,‘‘यसमा कार्यकारी अधिकार, विधानमण्डलको शक्ति, न्यायपालिकाको शक्तिलगायतमा परिवर्तन आउनेछ । यसैले गर्दा अहिलेको सरकारले राजीनामा दिएको हो ।’’

राष्ट्रपति पुटिनले संविधानमा परिवर्तनको जुन प्रस्ताव राखेका छन् यसमा देशव्यापी रुपमा मतदान हुनेछ । यसपछि सत्ताको तागत राष्ट्रपतिको सट्टा संसदमा बढी हुने अहिले जनाइएको छ । पुटिनले प्रधानमन्त्री पद छोड्न लागेका दिमित्रीलाई राष्ट्रिय सुरक्षा परिषद्का डेपुटी चेयरम्यान बनाउने निर्णय गरेका छन् । सरकारका सबै मानिसले राजीनामा दिएको घटनाले धेरैलाई चकित पारेको छ । राष्ट्रपतिले सरकारलाई अहिलेसम्मको कामका लागि धन्यवाद भनेका छन् ।  तर, राष्ट्रपतिले प्रधानमन्त्रीलाई किन हटाए भन्ने बारेमा अझै पनि अन्यौल रहेको छ । राष्ट्रपतिको रुपमा पुटिनको कार्यकाल सन् २०२४ मा सकिँदैछ । मौजुदा संविधानअनुसार उनी अर्को पटक राष्ट्रपति हुन सक्ने छैनन् । यदि संविधानमा परिवर्तन गरिएमा पुटिन फेरि पनि राष्ट्रपति हुन सक्नेछन् ।