जनता टाइम्स

२ माघ २०७६, बिहीबार ०९:५५

जेलभित्रको आत्महत्या रोक्न कैदीबन्दीलाई सकारात्मक सोचको तालिम


मन्दिरा थापा/दोलखा । विभिन्न मुद्धामा जेल जिवन विताइरहेका कैदीहरुले कारागार भित्र नै आत्महत्या गर्ने घटना बढेपछि दोलखामा सकारात्मक सोचको तालिमसंगै उपयोगीमुलक पुस्तक वितरण गरिएको छ ।

विभिन्न मुद्धामा जिवन विताइरहेका कैदीबन्दीहरु २ जनाले कारागारको शौचालय झुण्डिएर आत्महत्या गरेपछि त्यस्ता घटनालाई निरुत्साहित गर्न सकारात्मक सोचको विकास गराउने पुस्तक वितरण गरिएको हो । बलात्कार, ज्यान मार्ने उद्योग, बहुविवाह लगायतका मुद्धामा सजाय भोगिरहेका १ सय ६ जना कैदीबन्दी छन । जेल जिवन विताइरहेकाहरुलाई नकरात्मक सोच हटाई सकरात्मक सोच अभिवृद्धि गराउने उदेश्यले १ सय १७ वटा पुस्तक प्रदान गरिएको चरिध्याङ मार्ग टोल सुधार समितिका अध्यक्ष दावा लामाले बताउनुभयो । सकरात्मक सोचको विषयमा प्राथमिक स्वास्थ्य केन्द्रका डा. विनोद दंगालले मनोपरामर्श दिनुभएको थियो ।

यस स्थानलाई कसण्डीको रुपमा नलिएर आफु सुधार केन्द्रमा आएको महसुस गर्न कैदीबन्दीलाई प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माले आग्रह गर्नुभयो । महिनाका एकचोटी कैदीबन्दीहरुसंग बसेर खाने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । रातपरेपछि भर्याङमा, बाटोमा, खाटमुनी ओछयान लगाएर सुत्नुपर्ने बाध्यता रहेको कैदीबन्दीहरुले गुनासो गरेका छन । जीवनमा गरेका गल्तीलाई विर्सदै अब नयाँ जीवनको सुरुवात गर्ने गरी अघि बढन भिमेश्वर नगरपालिकाका मेयर भरत केसीले कैदीबन्दीलाई प्रोत्साहन दिनुभयो ।

१७ जनाको क्षमता रहेको कारगारमा १ सय ६ जना कैदीबन्दीहरु कष्टका साथ बस्दै आएका छन । कोठा अभावकै कारण दोलखामा महिला कैदीबन्दीलाई राख्ने ठाउ नभएपछि रामेछाप जिल्लामा राखिदै आएको छ । नयाँ भवन निर्माणधीन अवस्थामा रहेकाले अबको १ हप्ताभित्र नयाँ भवनमा सारिने प्रमुख जिल्ला अधिकारी शर्माले बताउनभयो ।