जनता टाइम्स

२ माघ २०७६, बिहीबार १२:०९

गायिका आस्थाले प्रहरी महिलाको मुखबाट हालेको लठ्ठी …बाट निकालिदिन्छु भनेपछि


काठमाडौं, माघ २

फेसबुकमा तीखा टिप्पणीबाट चर्चामा आइरहने गायिका आस्था राउत एउटा घटनापछि फेरि विवादमा तानिएकी छन् । उनले प्रहरीप्रति आक्रोश पोखेको भिडियो फेसबुकमा ‘भाइरल’ भइरहेको छ । हिजो बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भद्रपुर जान लाग्दा चेकिङको क्रममा महिला प्रहरीले आफूमाथि दुर्व्यवहार गरेको उनले दावी गर्दै भिडियोबाट तथानाम गालीगलौज गरेकी छन् ।

भद्रपुरमा ओर्लिएपछि उनले गाडीबाटै फेसबुक लाइभ गरेकी थिइन् । उनले भिडियोमा प्रहरीलाई ‘डन्ठे’, ‘बन्दुके’ जस्ता अपशब्द प्रयोग गरेकी छन् । यसैगरी निक्कै तल्लो स्तरको भाषा समेत उनले प्रयोग गरेकी छन् । उनले प्रहरी महिलाको मुखबाट हालेको लठ्ठी …बाट निकालिदिन्छु सम्म भन्न भ्याएकी छन् ।

पश्चिम सिक्कीमको रिम्बी माघे मेलामा प्रस्तुतीका लागि आस्था सिक्किम जाँदै थिइन् । आस्थाको फेसबुक पेजमा यो भिडियोले १ लाख ८१ हजार भ्युज पाइसकेको छ । अन्य पेजबाट पनि शेयर भइरहेको छ । नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षेत्रीले आस्था राउतको भिडियो आफूले पनि हेरेको र त्यसलाई छानबिनका लागि सम्बन्धित निकायमा पठाएको बताउनु भयो ।

यद्यपी उनले सामाजिक सञ्जालबाट सो भिडियो डिलिट गरेकी छन् । तर, सो भिडियो अन्य कयौं पेजबाट भाइरल भईरहेको छ ।

घटनाबारे अस्थाको दाबी

हिजो बिहीबार १२ बजेको फ्लाइटमा भद्रपुर आउँदै थियो । उडान ‘डिले’ भयो । बोर्डिङ पास लिने काउन्टर नजिककै कफी सपमा बसिरहेकी थिएँ । एक्कासी ‘मिस आस्था राउत’ भनेर बोलायो, कफी लिएर भित्र र्छिन थालें । दुई दिन अगाडिसम्म त्यहाँ एउटा मात्र एक्स्रे मेसिन थियो, नयाँ थपिएछ, त्यसमाथि मलाई ज्याकेट पनि खोल्न भनिन् । जबकी मैले कहिल्यै त्यहाँ त्यसरी ज्याकेट खोल्नुपरेको थिएन । बाहिरबाटै महिला प्रहरीले छामेर पास गर्थे ।

फ्लाइट छुट्न लागेको जानकारी गराउँदै मैले छिटो चेक गरिदिन अनुरोध गरें । ती महिला प्रहरीले झर्केर ‘ज्याकेट खोल्नुस’ भनिन् । मैले दुवै हात माथि उठाएर फेरि आग्रह गरें । त्यसपछि उनले मलाई ‘ज्याकेट खोल भनेको सुनिनस्’ भनिन् । मेरो कफी हातबाट लिएर कतै राखिदिइन् । चेक गरिसकेपछि ‘कफी लिएर जा’ भनिन् ।

एकातिर दुव्यर्वहार, अर्कातिर हतार । मैले कफी नलिई हिँड्न खोजें । तर उनले फेरि ठूलो स्वरमा ‘कफी लिएर जा, नत्र तेरो ब्यागमा खनाइदिन्छु’ भनिन् । ‘जे सुकै गर’ भनेर अगाडि बढें । उनले लगाएको युनिफर्मको नेमप्लेटमा ‘रमिता’ लेखेको थियो ।

त्यहाँ ममाथिको दुव्यर्वहार अरुले पनि देखिरहेका थिए । तर सबैले हेरि मात्र रहे, केही बोल्नेन् । हामी कलाकारमाथि त यस्तो रुखो व्यवहार हुन्छ भने सर्वसाधारणलाई कस्तो होला ? अपराधीलाई पनि त्यस्तो गर्न पाइँदैन । यो त युनिफर्मको दादागिरी हो । म महिलाबाटै पीडित भएँ । ‘प्रहरी मेरो साथी’ भन्ने नाराको मजाक भएन ?

भद्रपुर विमानस्थलबाट निस्किएपछि माघे संक्रान्तिको शुभकामना दिउँ अनि ममाथिको दुव्यवर्हारबारे पनि केही भनुम भनेर लाइभ आएको थिएँ । तर बोल्दै जाँदा अलि चर्को बोलेछु । पीडितको आवाज हो त्यो, मेरो भडास हो ।

तर, मैले एकजना प्रहरीका कारण पुरै प्रहरी प्रशासनलाई बदनाम गर्न खोजेको होइन, त्यस्तो नियत छैन । मैले केवल यस्ता प्रहरी पनि छन् है भनेर जानकारी र सुझाव मात्र दिएकी हुँ । यद्यपी मैले भिडियामा बोलेका आक्रोशपूर्ण शब्दप्रति क्षमाप्रार्थी छु ।