जनता टाइम्स

२ माघ २०७६, बिहीबार १२:१७

बी एण्ड सीका संचालक प्रसाईंविरुद्ध पक्राउ पूर्जी जारी


काठमाडौं, माघ २

२० करोड घुस मागेको भनेर आरोप लगाउने बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । अभद्र व्यवहार सम्बन्धी कसुरको अनुसन्धानका लागि प्रसाईंलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय भक्तपुरले पक्राउ पूर्जी समेत जारी गरेको छ ।

२० करोड घुस मागेको आरोप लगाएपछि प्रसाईंविरुद्ध चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले मानहानीको मुद्दा हाल्नु भएको थियो । उक्त मुद्दामा अनुसन्धान र बयानका लागि प्रसाइँलाई पक्राउ गर्न प्रहरीले अनुमति मागेको थियो ।

‘प्रसाईंविरुद्ध हाम्रोमा एउटा उजुरी दर्ता भएको छ । सोही उजुरीको आधारमा अभद्र व्यवहारको कसुरमा अनुसन्धान गर्न भनेर पक्राउ गर्ने अनुमतिका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थियौं । अहिले प्रशासनले पक्राउ गर्ने अनुमति दिएको छ,’ महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी सविन प्रधानले जानकारी दिनुभयो । लगतै प्रहरी भक्तपुरस्थित उनको निवासमा पुगेपनि फरार रहेकाले नभेटिएको जानकारी दिएको छ ।