जनता टाइम्स

२ माघ २०७६, बिहीबार १४:०२

यसरी मनाइयो २२ औं भूकम्प सुरक्षा दिवस


शुभ नारायण कामती / सिरहा

देशभर २२ औं भूकम्प सुरक्षा दिवस विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइएको छ । जिल्ला सदरमुकाम मूल समारोह समितिले “भूकम्पबाट सुरक्षित पूर्वाधार, दिगो सुख र समृद्धिको आधार” नाराका साथ आज सिरहामा भएको कार्यक्रममा भुकम्प आउनुपूर्व ध्यान दिनुपर्ने कुरा तथा भूकम्प आएपछि गर्नुपर्ने उद्दारबारे डेमो प्रर्दशन गरेका थिए ।

कार्यक्रमअघि नै सदरमुकामस्थित रामजानकी मन्दिर अगाडी र्याली समेत भएको थियो । प्लेकार्डसहित भएको र्याली सिरहा क्याम्पसमा पुगेको थियो । र्यालीमा नेपाल प्रहरी, सशस्त्र बल, नेपाली सेना, स्थानीय, विभिन्न संघसंस्थाका प्रतिनिधि, विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, संचारकर्मीको सहभागितामा थियो ।२०५५ सालदेखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो ।

यो दिवस मनाइरहँदा समेत भूकम्पीय जोखिम न्यूनिकरणका कार्यक्रम प्रभावकारी हुन सकेको छैन । नेपाल भुकम्पको जोखिमका हिसाबले विश्वको ११ औं स्थानमा रहेको छ । नेपालमा हरेक ८० देखि १ सय वर्षको अन्तरालमा ६ देखि ८ रेक्टरस्केलको भूकम्प जाने गरेको पाइन्छ । पछिल्लोपटक २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ७ दशमलब ६ रेक्टर स्केलको भूकम्प गएको थियो ।

नेपालको एकतिहाई क्षेत्रफललाई प्रभावित बनाएको यो भूकम्पमा परि झण्डै ९ हजार मानिसले जीवन गुमाए भने आठ लाखभन्दा बढी घर पूर्णरूपमा क्षति भए । विगतमा भूकम्पबाट हुने जनधनको क्षति न्यूनीकरणमा धेरै ध्यान दिएको पाइँदैन । तर अहिले सरकार र सर्वसाधारण पनि धेरै सचेत भएको पाइन्छ ।

कार्यक्रम विपद व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति राम चन्द्र ठाकुर, सिरहा नगरपालिकका मेयर अशेश्वर प्रसाद यादव, नेपाल रेडक्रस सोसाइटी सिरहाका सभापति राजदेव यादव, नेपाल प्रहरीका एसपी, राष्ट्रिय अनुसन्धानका एसपी, बहादुर श्री शेर गणका प्रमुख, सिरहा नगरपालिकाका लगायत विभिन्न संघसंस्थाका प्रतिनिधी, विभिन्न राजनीतिक दलका प्रतिनिधी, व्यापारी, स्थानीय बुद्धिजिवी, समाजसेवी, नागरिक समाजको सहभागिता रहेको थियो ।