जनता टाइम्स

३ माघ २०७६, शुक्रबार ०६:५१

घाटमा जलाउन ठिक्क पारेको महिलाको शव प्रहरीले लियो नियन्त्रण, यस्तो छ कारण


मोरङ, माघ ३ । दाहसंस्कार गर्न घाटमा पुर्‍याएको एक महिलाको शव मोरङ प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङको निर्देशनमा वडा प्रहरी कार्यालय हाटखोला विराटनगरले विराटनगर ८ सिंघिया घाटबाट जलाउन ठिक्क पारिएको अवस्थामा २८ वर्षीय प्रेमदेवी शाहको शव बिहीबार दिउँसो नियन्त्रणमा लिएको हो ।

मृतक शाहको घाटीमा चोट देखिएपछि हत्या भएको आशंका गर्दे आफन्तले प्रहरीमा उजुरी गरेपछि प्रहरीले जलाउन ठिक्क पारेको शव नियन्त्रणमा लिएको जनाएको छ । आफन्तको उजुरीपछि मेडिकल परीक्षण गरेर अनुसन्धान गर्न शव प्रहरीले नियन्त्रणमा लिएको मोरङ प्रहरी प्रवक्त्ता डिएसपी लोकदर्शन थापाले जानकारी दिनुभयो ।

थापाका अनुसार सँगै खाटमा राति सुतेकी श्रीमती खाटबाट लडेर मरेको भन्दै श्रीमान र आफन्तले दाहसंस्कार गराउन लगेका थिए । तर महिलाको घाँटीमा चोट भएकोले उनको मृत्यु स्वभाविक नभएको प्रहरीको आशंका छ । शवसँगै आफन्तलाई नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय हाटखोलाले घटनाको प्रारम्भिक अनुसन्धान गरिरहेको छ ।